काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभी)को दोस्रो संस्करण सुरु हुनु अघि टिम राजेश र टिम धनराज बीच प्रदर्शनी भलिबल खेल आयोजना हुने भएको छ । प्रदर्शनी भलिबल खेल पोखराको लेकसाइड हलन्चोकमा यही भदौ १९ गते दिनको ४ बजे हुने भएको हो ।
यो खेलमा नेपालका चर्चित अभिनेता राजेश हमाल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले टिमको समर्थन गरेका छन् । खेलमा चर्चित कलाकार, विदेशी खेलाडी र इडब्लुभी फ्रेन्चाइज टिमका प्रमुख खेलाडीहरू सहभागी हुनेछन् । प्रत्येक टिममा १२ खेलाडी रहने छन्, जसमा इडब्लुभी फ्रेन्चाइज टिमका टिम एम्बासेडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, पोखरा आधारित स्थानीय इन्फ्लुएन्सरहरू र पोखरामा भलिबलसँग सम्बन्धित व्यक्तिहरू समावेश हुनेछन् । यो प्रदर्शनी खेलले मनोरञ्जन, प्रतिस्पर्धा र स्टार पावरको मिश्रण प्रस्तुत गर्दै दर्शकलाई लिगको उत्साह र प्रतिभाको पूर्वावलोकन दिनेछ ।
कलाकार सहभागीहरूमा आना शर्मा, सनीषा भट्टराई र आदिती बुढाथोकी रहेका छन् भने प्रमुख खेलाडीहरूमा अरुणा शाही, प्रगति पुन, सलीना श्रेष्ठ, निरुता ठगुन्ना, सुमित्रा रेग्मी र उषा भण्डारी साथै आफ्ना टिमका विदेशी खेलाडीहरू पनि सहभागी हुने छन् । पोखरा आधारित साना इन्फ्लुएन्सरहरूले पनि प्रदर्शनी खेललाई थप रोचक र सहभागितापूर्ण बनाउने छन् ।
वात्सल्य एभरेष्ट महिला भलिबल लिग यहि भदौ २०–२८ मा पोखराको बहुउद्देशीय कभर्ड हलमा आयोजना हुनेछ । यो एशियाको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग हो, जसमा ६ प्रतिस्पर्धी टिमहरू र ९ देशका १८ विदेशी खेलाडीहरू सहभागि हुने छन् । यसले नेपाल र एशियामा महिला पेशागत भलिबलको लागि ऐतिहासिक प्लेटफर्म प्रस्तुत गर्ने छ । यो प्रदर्शनी खेलले लिगको उद्घाटनको माहोल तयार पार्नुको साथै महिला भलिबलको बढ्दो लोकप्रियतालाई उत्सवको रुपमा समेत प्रस्तुत गर्ने छ ।