काठमाडौं । भक्त राना स्मृति खुला र्यापिड चेस प्रतियागिता राजधानीमा बुधबार(आज) सुरु हुँदैछ, जहाँ दुई लाख चार हजार रुपैयाँ पुरस्कारको लागि करिब दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । माओवादी केन्द्रनिकट अखिल नेपाल चेस संघ (एन्का)ले पूर्व छापामार भक्त रानाको स्मृतिमा फिडे रेटिङ १९ सय मुनिका खेलाडी सहभागि हुने गरी प्रतियोगिता आयोजना गरेको हो । काभ्रेका रानाको निधन २०८१ साल भाद्र ११ गते भएको थियो ।
नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका एन्का अध्यक्ष दिपेन राईले भने, ‘खेलप्रेमीसमेत रहेकाले उहाँ (भक्त राना)को स्मृतिमा चेस प्रतियोगिता आयोजना गरिएको हो । नयाँ र प्रतिभावान खेलाडीलाई अवसर दिनको लागि १९ सय रेटिङमुनिका खेलाडीलाई समावेश गरिएको हो । प्रतियोगितामा करिब २ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।’
१० मिनेट र इन्क्रिमेन्ट १० सेकेन्डको र्यापिड चेसमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार र शीर्ष १० मा अटाउनेले जनही ६ हजार रुपैयाँ पाउने छन् । महिला, अनरेटेड, यू ८, यू १०, यू १२, यू १४, यू १६, यू १८, सातै प्रदेशका उत्कृष्ट खेलाडी, रेटिङ १८ सय मुनि र १७ सय मुनिका उत्कृष्ट गरी ३२ खेलाडी नगद पुरस्कारका हकदार हुने छन् ।
हिमालयन चेस एकेडेमीको सहयोगमा होटेल रोयल एयरपोर्ट, सिनामंगलमा सञ्चालन हुने दुई दिने प्रतियोगिताको उद्घाटन समारोह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आथित्य तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको विशेष आथित्यमा गरिने छ । एन्काले गत वर्ष फिडेमास्टर (एफएम) सुजेन्द्र श्रेष्ठ स्मृति भेट्रान चेस प्रतियोगिता आयोजना गरेको थियो, जहाँ सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेपछि राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरिएको थियो ।