काठमाडौं । कीर्तिपुरका जयस्नु महर्जन र काठमाडौं महानगरपालिका २६ का अर्नव श्रेष्ठले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत टेबलटेनिसमा सोमबार स्वर्ण जितेका छन् । ब्वाइज सिंगल्सको यु–१६ मा जयस्नु र यु–१४ मा अर्नव पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु–१६ फाइनलमा जयस्नुले काठमाडौं महानगरपालिका २ का उज्ज्वल मानन्धरलाई ६–११, ११–४, ११–४ र ११–८ को सेटमा पराजित गरे । कीर्तिपुरका सफल महर्जन र काठमाडौं महानगरपालिका २६ का आर्यन शाहीले कांस्य जिते । यु–१४ फाइनलमा अर्नवले काठमाडौं महानगरपालिका १ का निश्चल थापालाई ११–२, ९–११, ११–७, ५–११ र १२–१० को सेटमा हराए । काठमाडौं महानगरपालिका १७ का निरभ महर्जन तथा काठमाडौं महानगरपालिका २६ का शम्भुराज वन्त तेश्रो भए ।
काठमाडौं महानगरपालिका वडा २६ को आयोजनामा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं महानगरपालिका २ का उमेश मानन्धर पहिलो भए । उनले फाइनलमा काठमाडौं महानगरपालिका २६ का चन्दन शाहीलाई १३–११, ९–११, १२–१० र ११–७ ले पाखा लगाए । कीर्तिपुरकाद्वय सुधिर महर्जन र जयराम महर्जन तेश्रो बने । प्रतियोगितामा काठमाडौं महानगरपालिका २५ का रियान्श श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा जम्मा ८ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु–१६ गर्ल्स सिंगल्समा काठमाडौं महानगरपालिका १७ की प्राज्ना महर्जन, यु–१४ गर्ल्स सिंगल्समा काठमाडौं महानगरपालिका ११ की अंशु खनाल, भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौं महानगरपालिका २९ की इन्दिरा पराजुली, यु–१२ ब्वाइज सिंगल्समा काठमाडौं महानगरपालिका ३० कृतन श्रेष्ठ र यु–१२ गर्ल्स सिंगल्समामा काठमाडौं महानगरपालिका १६ की यमिला श्रेष्ठले स्वर्ण जितेका थिए । सबै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई आयोजक वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, प्रतियोगिता संयोजक एवं वडा सदस्य प्रवेश श्रेष्ठ, टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीदिने प्रतियोगितामा १ सय खेलाडी सहभागी थिए ।फुटसलमा आयोजक वडा २६ क्वाटरफाइनलमा प्रवेश गरेको छ । लैनचौर मैदानमा भएको खेलमा वडा २६ ले वडा १७ लाई ३–० गोलले पराजित गर्यो । वडा २६ का साजन शाही ‘म्यान अफ द म्याच’ घोषित भए ।
वडा १७ ले वडा ३० लाई टाइब्रेकरमा हराउदै क्वाटरफाइनलमा पुग्यो । प्रतियोगिताअन्तर्गत मंगलबार वडा १ र वडा २३, वडा ५ र वडा २, वडा १० र वडा ६ तथा वडा ११ र वडा १६ बीच खेल हुनेछ । मंगलबारदेखि कराते पनि सुरु हुनेछ ।