काठमाडौं । नखिपोट युथ क्लब र संकटाले तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । नखिपोट पुरुष तथा संकटा महिलामा च्याम्पियन बने ।
कफी क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा नखिपोटले वाइबा एफसीलाई सडन डेथ (७–६)मा पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । सुनाकोठीस्थित वाखत फुटसलमा भएको महिलाको उपाधि भिडन्तमा संकटाले हलेसीलाई २–१ गोलले हरायो । विजेताकी अभानी सिंह र सोविन्या ढकालले गोल गरे । हलेसीकी सविना तामाङले सान्त्वना गोल फर्काइन् ।
दुवै समूहका विजेताले २५ हजार तथा उपविजेताले १२ हजार नगद पुरस्कार प्राप्त गरे । पुरुषमा नखिपोटका गोलरक्षक शैलेन्द्र मगर तथा महिलामा संकटाकी अभानी सिंह प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई कफी क्लबका अध्यक्ष शैलेश लिम्बू, क्लबका पूर्व अध्यक्ष प्रेम राई, क्लबका उपाध्यक्ष मनु लिम्बू र कृष्ण मगर, सचिव सुरेश राई, सह-कोषध्यक्ष रुद्र राई, सदस्य राजाराम अछामी, प्रतियोगिता संयोजक प्रतित श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतियोगिताको पुरुषमा ३१ तथा महिलामा १२ टिम सहभागी थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिम्बूले प्रतियोगिताबाट उठेको रकमको केही प्रतिशत आर्थिक अवस्था कमजोर भएका जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरुप उपलब्ध गराउने बताउदै प्रतियोगिताका लागि रनिङ सिल्डको व्यवस्था गरिएको बताए । उनले प्रतियोगिताको मुख्य प्रायोजक पिल्मो परिवारका सदस्य बल राई, बौद्ध राई, अस्मिता राई, संगमा राई र युमिहाङ राई, विभिन्न संघ संस्था, निजी व्यवसायिक संस्था, व्यक्तिगत रुपमा सहयोग गर्ने सम्पूर्णलाई कफी क्लबको तर्फबाट धन्यवाद दिए ।