काठमाडौं । फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको समग्र र पुरुष १७-२१ वर्ष उमेर समूहको उपाधि नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले जितेका छन् । उपाधि विजेता सदभाव प्रतियोगिता अगाडि नै भियतनामको ला-लगुनामा आयोजना हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा स्वत: छनोट भैसकेका थिए ।
गत नोभेम्बरमा यूएईमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलको उपाधि जितेका कारण उनी सिधै छनोट भएका हुन् ।
१७-२१ वर्ष उमेर समूहमा दोस्रो भएका प्रकृत तामाङ पनि छनोट हुन सफल भए । ब्वाइज १२-१६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा र महिला १२-२१ वर्ष उमेर समूहमा अभानी राई आ-आफ्नो उमेर समुहको विजेता बन्दै एसिया ग्रान्ड फाइनलमा स्थान बनाउन सफल रहे । पुरुष १७-२१ वर्ष उमेर समूहमा स्वर्ण विजेता सदभावले रोयल नेपाल गल्फ क्लबमा २-अन्डर ६६ स्कोर जोड्दै समग्रमा २-अन्डर २०२ को नतिजा निकाले । उनले प्रकृत तामाङलाई २१ स्ट्रोकले माथ दिए ।
सदभावले चौथो र आठौं होलमा बर्डी प्रहार गर्दा तेस्रो र नवौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए । यसपछि १०औं र १७औं होलको बर्डीको सहयोगले ब्याक नाइन २-अन्डर ३२ मा सकाए । प्रकृत १०-ओभर ७८ को स्कोरमा समग्रमा १९-ओभर २२३ सहित दोस्रो भए । यो सँगै उनी छनोट हुन सफल रहे । उनले फ्रन्ट नाइन ४-ओभर ३८ र ब्याक नाइन ६-ओभर ४० मा पुरा गरे । स्वप्निल भट्टराईले तेस्रो स्थान प्राप्त गरे । उनले आज ११-ओभर ७९ स्कोर जोडे । समग्रमा भने २५-ओभर २२९ को प्रदर्शन गरे ।
पुरुष १२-१६ वर्ष उमेर समूहतर्फ सिद्धान्त सापकोटाले स्वर्ण जिते । ५-ओभर ७३ को स्कोर कार्ड बनाएका उनले समग्रमा भने ३५-ओभर २३९ को स्कोरमा सोहम अग्रवाल र इधान्त सिंह साउदलाई १० स्ट्रोकले हराए । इधान्तलाई काउन्ट ब्याकमा हराएका सोहमले कुल २४९ स्कोर गरे । उनले ७-ओभर ७५ को स्कोर निकाले । सोहमले जतिकै २४९ स्कोर गरेका इधान्तले १४-ओभर ८२ को खराब प्रदर्शन गरे ।
गल्स १२-२१ वर्ष उमेर समूहमा अभानी राई पहिलो भइन् । आज १३-ओभर ८१ सहित समग्रमा २५४ स्कोर गरेकी उनले अनभद्धया मल्ललाई २८ स्ट्रोकको फराकिलो अन्तरमा हराइन् । दोस्रो भएकी अनभद्धयाले कुल २८२ स्कोर गरिन् । प्रतियोगिता अन्तर्गत जुनियर ब्वाइजतर्फको नौ होलको प्रतियोगितामा आर्यभ शाह पहिलो, देव जलान दोस्रो र सम्योग खनाल तेस्रो भए । गल्सतर्फ रिजु राई, आद्रीती थापा र श्रीषा कडाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
तीन दिने प्रतियोगितामा चार प्रदेशका ३१ जना जुनियर गल्फरहरूको सहभागीता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई नेपाल गल्फ संघका कार्यवाहक अध्यक्ष पवित्र कुमार कार्की, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्वा, क्याप्टेन मिथुन राई र लेडी क्याप्टेन आर्सीया बानुले पुरस्कार वितरण गरे ।