काठमाडौं । यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट बिनयज्योति सापकोटा सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले २९औँ स्थापना दिवसका अवसर पारेर सोमबार ललितपुरको कोरियन बारबिक्युमा आयोजित कार्यक्रममा मेरो खेल डटकमका सम्पादक भण्डारी र कान्तिपुर टेलिभिजनका सापकोटालाई सम्मान गरेको हो । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसको अवसरमा यो अवार्ड दिँदै आएको छ । पछिल्लो एक दशकदेखि मन्चले यो अवार्ड गर्दै आएको थियो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, बागमति प्रदेश खेलकुद परिषदका सदस्य रवि महर्जन, एनएसजेएफका कार्यवहाक अध्यक्ष निरन्जन अधिकारी र महासचिव प्रज्ज्वल ओलीले वरिष्ठ पत्रकार भण्डारीलाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे । सुदूरपश्चिमको डडेलधुरामा जन्मिएका भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन् । २०४४ सालमा हुवाहुरीका कारण दशरथ रगंशालामा ९० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको समयमा रिपोर्टिङ गर्दै भण्डारीले आफ्नो करियर सुरु गरेका थिए ।
त्यस्तै खेलकुदमन्त्री चौधरीले युवा पत्रकार सापकोटालाई ल्यापटप र ताम्रपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सापकोटा पछिल्ला ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय छन् । सम्मान कार्यक्रममा भण्डारीले तीन दशक अगाडि आफूहरूले स्थापना गरेको संस्थाबाट सम्मानित हुन पाउदा खुसीको सीमा नै नरहेको बताए । पछिल्ला वर्ष मन्चले अन्तर्राष्ट्रिय समन्वयका साथै विभिन्न किसिमका गतिविधिहरूमार्फत नयाँ उचाइमा पुर्याउदा आफूलाई धेरै खुसी लागेको उनले बताए ।
युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका सापकोटाले एनएसजेएफद्वारा प्रदान गरिंदै आएको यो अवार्ड एकदिन आफूले पनि हासिल गर्ने लक्ष्य लिएको र आज यो अवार्ड प्राप्त गर्दा खेलकुद पत्रकारितामा प्रोत्साहन मिलेको धारणाा राखे । युवा तथा खेलकुद मन्त्री चौधरीले सम्मानित पत्रकारद्वयलाई बधाई दिंदै नेपाली खेलकुद क्षेत्रले प्रतीक्षा गरिरहेको दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै आयोजना गर्ने प्रयास भैरहेको बताए ।
![](https://www.khelkudmanch.com/uploads/editor/2025-02-11/040130684f4.jpg)
राखेप सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विशेष रहेको उल्लेख गर्दै खेलकुद पत्रकार सम्मानित भैरहदा समग्र नेपाली खेल क्षेत्र नै सम्मानित भएको महसुस गरेको बताए । एनएसजेएफका कार्यवहाक अध्यक्ष निरन्जन अधिकारीले सम्मानित भएका अग्रज पत्रकार भण्डारी र अनुज पत्रकार सापकोटालाई बधाई दिदैँ खेलकुद पत्रकारिताको व्यावसायिक स्तरोन्नतीका लागि गरिने विभिन्न किसिमको प्रशिक्षण कार्यक्रम सहयोग गरिदिन आग्रह गरे । मन्चका महासचिव ओलीले यस अवार्डका वर्षभर मन्चले आयोजना गर्ने विभिन्न कार्यक्रमबारे प्रकाश पार्दै राष्ट्रिय खेलकुद परिषदमा एक समूहले गरेको तोडफोड घटनाबारे पनि निन्दा पनि गरेका थिए ।