काठमाडाैं , २२ साउन – लुइस स्वारेजलगायत क्लबका अन्य केही स्टार खेलाडी विश्वकप पछि पहिलो पटक सोमबार बार्सिलोनाको प्रशिक्षणमा सामेल भएका छन् । स्वारेजसँगै फिलिप्पे काउटिन्हो, इभान राकिटिक, स्यामुएल उम्टिटी, यारी मिना र थोमस भर्मालेन विश्वकप पछि पहिलो पटक क्लबको अभ्यासमा सामेल भएका हुन् ।
लियोनल मेस्सी, मार्क आन्द्रे टेर स्टेगन, जेरार्ड पिके, सर्जियो बुस्केट, ओसमाने डेम्बेले, जोर्डी अल्बा, सिर्जी साम्पेरसहितका खेलाडीले पनि हल्का अभ्यास सत्रमा भाग लिएका थिए। मेस्सी र स्वारेजले गत सिजन ला लिगामा ५९ गोल गरेका थिए । अभ्यासमा पनि उनीहरुसँगसँगै थिए ।
प्रि–सिजनमा बार्सिलोना अमेरिका भ्रमणमा निस्केको थियो । जहाँ टोलीले इंग्लिस टोली टोटेनह्यामसँग २–२ को बराबरी खेलेको थियो । त्यसअघि बार्सिलोना, रोमा र एसी मिलानसँग पराजित भएको थियो । टोलीका केही महत्वपूर्ण सदस्य आइतबार सेभिल्लासँग हुने स्पेनिस सुपर कपमा खेल्ने अपेक्षा गरिएको छ ।
त्यसपछि टोलीले अगस्ट १५ गते बोका जुनियरर्ससँग जोहान गाम्पर ट्रफीमा प्रतिस्पर्धा गर्नेछ । त्यसको तीन दिनपछि ला लिगा सिजनको शुरुवातको खेलमा बार्सिलोनाले घरेलु मैदानमा अल्भेसको सामना गर्नेछ ।