काठमाडौं । तामाङ समाज यूएई, अबुधाबी क्षेत्रीय समितिले खेलकुद, पर्यटन तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका चार जनालाई सम्मान गरेको छ । समितिले अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर तथा युएईका पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारी, कराते राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शान्ति तामाङ, मध्यपूर्वको पर्यटन क्षेत्रकी पहिलो महिला डबल डेकर बस चालक शान्ती भण्डारी र सामाजिक कार्यमा सक्रिय रहदै आएकी पेमा तामाङलाई सम्मान गरेको हो ।
समितिले यहि जनवरी २५ तारिख शनिबारको दिन इन्डियन इस्लामिक सेन्टर-अबुधाबीमा आयोजना गरिएको मञ्जुश्री संवत् २८६१औँ डुल ल्हो(सर्प बर्ग) सोनाम ल्होछार तथा सेलो बिशेष कार्यक्रमको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो । सम्मानित सबैलाई नेपाली समाजका अध्यक्ष राम मोक्तान, तामाङ समाज यूएईका अध्यक्ष भिम दोङ्, तामाङ समाज यूएईका सल्लाहकार सम्भु वाईवा, तामाङ समाज यूएई अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष लवाङ दोर्जे लगायतले खादा तथा सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा तामाङ समाज यूएईका संस्थापक कोषाध्याक्ष, पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक नेपाली समाजका अध्यक्ष राम मोक्तानले सम्मानित सबैलाई बधाई तथा धन्यवाद दिएका थिए । उनले विगत लामो समयदेखि युएईमा रहेर तेक्वान्दो खेलमार्फत नेपालीसहित युएईमा विभिन्न देशका खेलाडीहरुलाई तेक्वान्दो प्रशिक्षण दिदैँ आएका छन् । सम्मानपश्चात कराते खेलमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सफल खेलाडी हाल युएईको आबुधाबीस्थित वारियर एकेडेमीमा कराते प्रशिक्षण गराउँदै आएकी शान्ति तामाङले कार्यक्रम आयोजकले फरक विधामा अगाडी बढ्दै आएका हामी नेपालीहरुलाई सम्मान गरेर अझै राम्रो काम गर्न प्रेरणा प्रदान गरेको बताइन् ।
कार्यक्रममा बोल्दै समितिका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक श्याम तामङले नेपालीहरु माझ चिरपरिचित मध्यपूर्वको पर्यटन क्षेत्रकी पहिलो महिला डबल डेकर बस चालक शान्ती भण्डारी, सामाजिक कार्यमा सक्रिय रहदै आएकी पेमा तामाङ लगायत खेल क्षेत्रमा स्थापित व्यक्तित्वहरुलाई सम्मान गर्न पाउदा खुशी लागेको बताए । उनले आगामी दिनहरुमा पनि विभिन्न संस्थाहरुले पनि यसको अनुसरण गर्दै विभिन्न क्षेत्रमा राम्रो काम गर्दै आएका नेपालीहरुलाई हौसला प्रदान गर्नको निम्ति यस्तै कार्यक्रम आयोजना गर्न सुझाव दिए ।
भव्य रुपमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट गएका तामाङ समुदायको चर्चित गायक गायिकाहरु मनमाया वाईवा, संजिव घिसिङ र सुमिनालगायत कलाकारहरुले प्रस्तुती दिएका थिए । समितिले विभिन्न सामाजिक कार्यहरुमा अग्रसर भएर कार्य गर्दै आएका नेपाली समुदायलाई सहयोग गर्दै आएको छ ।