काठमााडौं । ललितपुरमा जारी तेश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जनले जित हात पारेका छन् । ललितपुर नगरपालिकाद्वारा प्रायोजित तथा ललितपुर जिल्लाद्वारा आयोजित मेयरकपमा ह्याट्रिकका साथ उनीहरुले उपाधि उचाल्न सफल भएका हुन् ।
शनिबार भएको पुरुष एकलतर्फको खेलमा दाहालले नेपाली सेनाका प्रफुल महर्जन माथि २१–८, २१–९ को जित निकाल्दै उपाधि रक्षाका साथ ह्याट्रिक गर्न सफल भएका हुन् । एपिएफका देवराज राना र क्षितिज खनाल तेश्रो स्थानमा खुम्चिन बाध्य भए ।
महिला एकलतर्फ शिर्ष बरियताकी रसिला महर्जनले आफ्नो उपाधि जोगाईन् । सेनाकी महर्जनले उपाधि जोगाउने क्रममा आफ्नै क्लबकी अमिता गिरीलाई २१–७, २१–११ ले पाखा लगाईन् । रसिलाको ललितपुर मेयर कपमा यो लगातार तेश्रो उपाधि हो । सेनाकै रिहाना शेरचन र शेष्ना श्रीपाली संयुक्त तेश्रो भए ।
पुरुष (शिर्ष २० बरियता बाहेक) युगलतर्फ नेपाली सेनाका विधान अधिकारी र पविन लिङ्गथेपको जोडी र बालकुमारी रिमिक्स क्लबका सशिन डङ्गोल र सुमन शाक्यको जोडीबीच भएको प्रतिस्पर्धामा विधान र पविनले जित हात पारे । विधान र पविनको जोडीले २१–१४, २१–१४ को जित हात निरन्तर तीन पटक उपाधि उचालेका हुन् । नेपाली सेनाका लक्ष्मण राना मगर र सुप्रिम पन्तको जोडी तथा बालकुमारी रिमिक्सका दिप्रिश मुनी बज्राचार्य र रमन महर्जनको जोडी संयुक्त तेश्रो भए ।
यु-१७ तर्फको पुरुष एकलतर्फ एपिएफका कविर केसीले जित हात पार्दै उपाधि उचाले । उनले सेनाका सुविन श्रेष्ठ माथि २१–९, २१–१३ को जित निकाल्दै उपाधि उचालेका हुन् । कठायत ब्याडमिन्टन ट्रेनिङ्ग सेन्टरका अमन डङ्गोल र कैलालीका शिषिर राना संयुक्त तेश्रो भए । यहि विधाको महिलातर्फ नेपाली सेनाकी रिहाना शेरचनले उपाधि कब्जा गरिन् । शेरचनले एपिएफकी स्वर्लिन श्रेष्ठलाई २१–१७, २१–१२ ले पराजित गरेकी हुन् । तेश्रो स्थानमा एपिएफका प्रियंशा श्रेष्ठ र टिशा रानी शाक्य रहे ।
मास्टर्स ४५ बर्ष माथिको युगलतर्फ सहआयोजक बालकुमारी रिमिक्स क्लबका शान्ता डङ्गोल र कृष्ण श्रेष्ठको जोडी स्पोर्टस् हबका सानबहादुर साँवा र लाक्पा शेर्पाको जोडीलाई १०–२१, २३–२१, २१–१६ ले पराजित गर्दै प्रथम हुन सफल भए । कास्कीका प्रेम कुमार गुरुङ्ग र राजेन्द्र वाग्ले तथा हिमाल गुरुङ्ग र शम्भु श्रेष्ठको जोडी संयुक्त तृतीय भए ।
प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शिर्ष २० बरियता बाहेक), यु–१७ ब्वाईज र गर्ल्स तथा मास्टर ४५ माथि युगल गरि ६ बिधामा प्रतिस्पर्धा भएको थियो । ३१ लाख अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगल तर्फका बिजयीले नगद ४० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै दोश्रो हुनेले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले नगद १० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
यु–१७ तर्फ ब्वाईज तथा गर्ल्स एकलमा प्रथम द्वितीय र तृतीय हुनेले नगद २० हजार, १० हजार र ५ हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र तथा मास्टर युगल ९४५ बर्ष माथि०का प्रथम, द्वितीय र तृतीय हुनेले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जरी शाक्य बज्राचार्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, ब्याडमिन्टनका भेट्रान खेलाडी मोहन बहादुर शाही, संघका महासचिव बिरेन्द्र श्रेष्ठ, उपमहासचिव नविन बिक्रम शाह, प्रायोजक योनेक्सका नेपाली आधिकारीक त्रिक्रेता इनास इन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोला लगायतले पुरस्कार वितरण गरेका थिए । ५ दिनसम्म संचालन हुने प्रतियोगितामा तीन विभागिय टोली, क्लब र जिल्लाका गरि २२८ खेलाडीहरुले गरेका थिए ।