काठमाडौं । चौथो अल नेपाल अन्तरवडा टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्सको उपाधि बेलकोटगढी ८, नुवाकोटका गनन्जय दाहाल र संखुवासभा ८ की वियंका राईले शनिबार जितेका छन् । गनन्जय पुरुष तथा वियंका महिलामा पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा गनन्जयले ललितपुर १६ का संयोग कपालीलाई ११–८, ८–११, १२–१० र १२–१० को सेटमा पराजित गरे । भक्तपुर ६ का राजीव चिकबन्जार र सुजन गडाल तेश्रो भए । महिला सिंगल्सको उपाधि भिडन्तमा वियंकाले काठमाडौं २ की रविना महर्जनलाई ११–३, १२–१० र १३–११ को सोझो सेटमा हराइन् । काठमाडौं २ सुस्मिता खड्का र कीर्तिपुर ६ की योङगी पौडेल तेश्रो भए । दुवै सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगदसहित अनर मोबाइल फोन प्राप्त गरे ।
स्पिन इभेन्ट प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु-१६ सिंगल्सको ब्वाइजमा काठमाडौं २६ का आर्यन शाही र गर्ल्समा काठमाडौं २ की शुभश्री श्रेष्ठ, टिम इभेन्टको पुरुषमा ललितपुर ८ र महिलामा भक्तपुर ५ पहिलो भएका थिए । भेट्रान सिंगल्सको ४० वर्षमाथि महिलामा काठमाडौं २९ की इन्दिरा पौडेल पराजुली, पुरुष ४० वर्षमाथि काठमाडौं २६ का चन्दन शाही, ५० वर्षमाथि ललितपुर ११ का राजेन्द्र वज्राचार्य र ६० वर्षमाथि धरान १२ का राजन सुब्बा पहिलो भएका थिए । भेट्रान ४० वर्षमाथि पुरुष टिम इभेन्टमा ललितपुर १६ ले बाजी मार्यो ।
प्रतियोगितामा काठमाडौं २६ टिम च्याम्पियन बन्यो । काठमाडौं २६ ले २ स्वर्ण र १ कांस्य जित्यो । दोश्रो भएको ललितपुर ११ ले १ स्वर्ण, २ रजत र २ कांस्य हात पार्यो । १ स्वर्ण, १ रजत र २ कांस्यसाथ ललितपुर १६ तेश्रो भयो ।
विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, टेबलटेनिस संघका उपाध्यक्ष एवं मुख्य प्रायोजक सुमन खड्गी, टेबलटेनिस संघका महासचिव कुँवेर सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुष/महिला तथा भेट्रान टिममा बाहेक बाँकी ८ स्पर्धामा कुल २ लाख ४० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको प्रतियोगिता संयोजक ज्याकी महर्जनले जनाए । प्रतियोगिताको सह-प्रायोजकमा दि ह्यानडीक्राफ्टका अध्यक्ष नदिमरत्न शाक्य, इटीटी क्लबका उपाध्यक्ष रवि धाक्वा र अनर मोबाइल रहेका छन् ।