काठमाडौं । ‘कर्णाली एश्विज’ टिमबाट वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ खेल्न जेनेप आउटर्यान नेपाल आएकी छन् । टर्किस भलिबल खेलाडी जेनेप बिहीबार नेपाल आईपुगेकी हुन् ।
उनलाई स्वागत गर्न ‘कर्णाली एश्विज’ टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । उनको आगमनसँगै टिममा थप उर्जा थपिएको र बलियो भएको ‘कर्णाली एश्विज’ को विश्वास छ । टर्किस खेलाडी जेनेपलाई केही समय अघिमात्र ‘कर्णाली एश्विज’ले आफ्नो टिममा अनुबन्ध गराएको थियो । आउटसाइड हिटर जेनेप आउटर्यान आफ्नो शक्तिशाली खेल क्षमताका लागि परिचित छिन् । धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी जेनेपले सुल्तान्स लिगको समेत अनुभव बटुलिसकेकी छिन् । ‘युथ नेसन्स टिम’ अर्थात ‘युवा राष्ट्र टोली’ को समेत अनुभव लिईसकेकी जेनेपले बेस्ट स्पाईकर अर्वाड (पोर्चुगल) समेत हात पारिसकेकी छिन् ।
राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले अन्य थुप्रै अवार्डहरू पनि प्राप्त गरेकी छिन् । जेनेपका अनुसार उनको लागी भलिबल एक अनुशासन हो । उनी भन्छिन,‘मेरो विचारमा यो टीम वर्क, समर्पण र प्रेम हो । सिक्न र सिक्नेको लागि निरन्तर इच्छा हो । म आफ्नो अनुभव नेपाल ल्याएर आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु ।’
रमेश कर्पोरेसनले हेर्दै आईरहेको ‘कर्णाली एश्विज’ टिममा केही समय अघिमात्रै अर्की खेलाडी ग्याब्रीएल बेन्डा पनि अनुबन्धित भएकी थिईन् । उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन् । खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ सुरु भएको ‘कर्णाली एश्विज’ टिमले नेपालमा पहिलो पटक हुन लागेको वात्साल्य ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’को तयारीमा कुने कमी छोडेको छैन । जेनेप आउटर्यान र ग्याब्रीएल बेन्डाको उपस्थिति तथा भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राईको प्रशिक्षणले कर्णाली एश्विज’ टिमले ‘ट्रफी’ उचाल्नेमा टिम विश्वस्त छ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन गईरहेको ‘एभरेष्ट वुमन भलिबल लिग’ यहीँ असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुँदैछ । लिगमा ६ टोलीको सहभागितामा हुनेछ । कर्णालीको टिममा सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा छन् ।