काठमाडौं । एभरेष्टका आर्यन शाही र युलेन्सकी शुभश्री श्रेष्ठले १०औँ सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । यु-१६ सिंगल्सको ब्वाइजमा आर्यन र गर्ल्समा शुभश्री पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइजको फाइनलमा आर्यनले गत जेठ अन्तिम साता पोखरामा भएको प्रथम यु-१५ विद्यालय खेलकुद प्रतियोगितामा तीन स्वर्ण जित्न सफल एभीएमका जयस्नु महर्जनलाई ११-९, १४-१२, ९-११, ६-११ र ११-९ को सेटमा पराजित गरे । भासारका रिजन शाक्य र न्यु होराइजनका सुविन क्षेत्री तेश्रो भए ।
गर्ल्सको उपाधि भिडन्तमा शुभश्रीले सेन्ट मेरिजकी सुरम्य शाक्यलाई ११-८, ११-४ र ११-६ को सोझो सेटमा हराइन् । प्राइम ग्लोबलकी प्राज्णा महर्जन र एभीएमकी अर्सना महर्जन तेश्रो बने । ब्वाइज/गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमश: १५ हजार, ७ हजार ५ सय र ३ हजार नगद पुरस्कार प्राप्त गरे ।
गोरखनाथ माविको सहकार्यमा सोफेस नेपालद्वारा आयोजित प्रतियोगिताको यु-१२ ब्वाइज सिंगल्समा डिलाइट किन्डरगार्तेनका आरम्भराज शाक्य पहिलो भए । उनले फाइनलमा जेम्सका अनमोल बजगाईंलाई ३-२ ले पाखा लगाए । सो स्पर्धाको गर्ल्स फाइनलमा आरुणीकी योजना पुन मगरले जेम्सकी सुहाना महर्जनलाई ३-१ ले पन्छ्याउदै पहिलो भइन् ।
यु-१४ ब्वाइज सिंगल्समा श्रृष्टि एकेडेमीका अर्नव श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा जेम्सका अर्चित शाहको चुनौती ३-० को सोझो सेटमा समाप्त पारे । उक्त स्पर्धाको गर्ल्स फाइनलमा दृष्टिका श्रेष्ठले स्वर्णिमकी सुप्रिया कपालीमाथि ३-१ को जित दर्ता गर्दै पहिलो बनिन् ।
ब्वाइज टिम इभेन्टमा एभीएम पहिलो, भासारा दोश्रो तथा न्यु होराइजन र एभरेष्ट तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको गर्ल्समा पनि एभीएम नै शीर्ष स्थानमा रह्यो । प्रभात दोश्रो तथा मंगल र स्वस्तिश्री गुरुकुल तेश्रो भए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, सोफेसका अध्यक्ष प्रा.डा.रामकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा विभिन्न ४४ विद्यालयका १ सय ७७ ब्वाइज र ७६ गर्ल्स गरी जम्मा २ सय ५३ खेलाडीले ८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यु-१६ सिंगल्समा मात्र नगद पुरस्कार राखिएको थियो ।