ललितपुर । पहिलो वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ आइतबार राजन रोकाया पहिलो भएका छन् भने महिलातर्फ सुमित्रा चौधरी पहिलो भइन् । दुवै विजेताले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
राजनले २१.१ किलोमिटर दौड १ घण्टा १६ मिनेट ७ सेकेन्डमा पूरा गरे । खिमबहादुर खत्री १ घण्टा १७ मिनेट २४ सेकेन्डमा दोस्रो तथा धर्म महर्जन १ घण्टा १९ मिनेट ५८ सेकेन्डमा तेस्रो भए ।
महिलातर्फ सुमित्राले १ घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । उनी पछि पुष्पा भण्डारीले १ घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भइन् । मञ्जु सुनार दुई घण्टा ३ मिनेट ८ सेकेन्डको समयमा तेस्रो भइन् ।
पुरुष १० किलोमिटर दौडमा ३२ मिनेट ३३.१ सेकेन्डको समयसहित राजेन्द्र तामाङ पहिलो भए । यस्तै सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डमा दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३.१ सेकेन्डमा तेस्रो भए । महिलातर्फ १० किलोमिटर दौडमा फुलमति राना ३८ मिनेट २८.०५ सेकेन्डमा पहिलो, आशा रावत ३९ मिनेट ४.४० सेकेन्डमा दोस्रो तथा सगुन राई ५० मिनेट २० सेकेन्डमा तेस्रो भए ।
यस्तै, पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिर १८ मिनेट ३३.७५ सेकेन्डमा पहिलो, मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डमा दोस्रो तथा हस्त सुनार १९ मिनेट १५.४० सेकेन्डमा तेस्रो स्थानमा रहे । महिलाको पाँच किलोमिटर दौडमा सीमा चौधरी २२ मिनेट ४८.७० सेकेन्डमा पहिलो भइन् । उनीपछि २३ मिनेट ५०.९ सेकेन्डमा श्रेबी मजर्हन दोस्रो तथा २६ मिनेट ३९.८७ सेकेन्डमा पूर्णिमा श्रेष्ठ तेस्रो भए ।
ब्वाइज एक किलोमिटर दौडमा सञ्जय नेफाली, सन्तोषविक्रम विष्ट र खगेन्द्र शर्मा क्रमशः शीर्ष तीन स्थानमा रहे । गर्ल्सतर्फ रजिना दुलाल, मनु खड्गी र कृटिका हाउँमिखा पहिलोदेखि तेस्रो स्थानमा रहे । दौड हिरो लिगको आयोजनामा भएको हो र यसलाई एनआरएस स्पोर्टस पाउन्डेसनले प्राविधिक सहयोग गरेको थियो ।
पाटन दरवार स्क्वारमा आयोजित दौडमा हजारभन्दा बढी धावक धाविकाको सहभागिता थियो । त्यसमा १५ देशका धावक धाविक सहभागी थिए । कृष्ण मन्दिरबाट सुरु भएको दौड पाटनका विभिन्न स्थान भएर त्यहीं टुंगेको थियो । ललितपुर उप–महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौडका शुभारम्भ गरेका थिए ।
कार्यक्रमको अन्त्यमा मेयर महर्जनसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र प्रकाश साय्मिले विजयी खेलाडीलाई पदक तथा पुरस्कार वितरण गरे । दौड राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र ललितपुर उप–महानगरपालिकाको सहयोगमा भएको हो । दौड प्रत्येक वर्ष आयोजना गर्ने कार्यक्रम रहेको छ ।