काठमाडौं । श्रृजना ज्ञान सागरले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसको स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । टेबलटेनिसमा ३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । तीनै स्वर्ण श्रृजना ज्ञान सागरले जित्यो ।
आइतबार मनमैजुस्थित एन्जल्स हार्टमा भएको ब्वाइज फाइनलमा सन्तोष थापाले ग्रिन हिल्सका रोहित भण्डारीलाई ११–५, ११–४ र ११–६ को सोझो सेटमा पराजित गरेका थिए ।
तार्केश्वर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको गर्ल्स सिंगल्स फाइनलमा विपिना थापाले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) की रक्षा थापालाई सीधा सेटमा ११–२, ११–४ र ११–७ ले हराइन् । मिक्स डबल्समा कुशल श्रेष्ठ र सुप्रिया बोगटीको जोडीले ग्रिन हिल्सका जिमाल गुरुङ र आकृति रिमालको जोडीलाई फाइनलमा ११–४, ११–४ र ११–५ को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थान हात पारेका थिए ।
बास्केटबलमा एलएनएको दोहोरो जित
एलएनएले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको जुनियर ब्वाइज बास्केटबलमा दोहोरो जित निकालेको छ । मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले रोजमेरीलाई २६–१५ ले पराजित गर्यो । एलएनएको जितमा सर्गम थापाले १२ अंक योगदान गरेका थिए । मनीष केसीको ८ अंक सहयोगमा एलएनएले मानसिंह धर्म माविलाई २५–१३ ले हरायो ।
जुनियर ब्वाइजमै एन्जल्स हार्टले मानसिंहलाई २३–१५, सिद्धार्थले एन्जल्स हार्टलाई १८–११ र मेघा पब्लिक स्कुललाई पनि १८–११ तथा पद्मचक्रले एन्जल्स हार्टलाई २१–१२ ले पाखा लगाएका थिए । गर्ल्समा एलएनएले स्प्रिङ भ्यालीलाई २९–२०, एन्जल्स हार्टले नर्थ प्वाइन्टलाई २१–१२, मानसिंहले एन्जल्स हार्टलाई २०–१२ र ल्यान्डमार्कले प्रारम्भ वल्र्डलाई २५–१७ ले पाखा लगाएका थिए ।
प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, कबड्डी, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टन गरी ९ खेल समावेश छन् । दोश्रो संस्करणमा ३ खेल थप्दै खेल संख्या ९ पुर्याएको हो । यो संस्करणमा थपिएका नयाँ खेलमा टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन छन् ।
प्रतियोगितामा विभिन्न ४९ विद्यालयका २ हजार २ सय ५४ खेलाडीले सहभागी छन् । ब्याडमिन्टनमा ३, भलिबल र कबड्डीमा समान २–२, एथलेटिक्समा २६, कराते, उसु र तेक्वान्दोमा समान १२–१२, टेबलटेनिसमा ३ तथा बास्केटबलमा २ गरी जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । टिम च्याम्पियनले १ लाख, दोश्रोले ६० हजार, तेश्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गत संस्करणको उपाधि हिमरश्मीले जितेको थियो । प्रतियोगिता मंसिर २२ गतेसम्म जारी रहने छ ।