काठमाडौं । ब्राजिलको रियो डि जेनेरियोमा शुरु भएको ‘दोस्रो आईएसएफ जिम्न्यासाइड–२०२३’ नेपालले बक्सिङबाट दुई काश्य पदक जितेको छ । रियो डि जेनेरियोको ओलम्पिक पार्कमा सोमबार सम्पन्न खेलमा प्रकृती थापाले ५१ केजी तौल समूहमा तथा शेरप ग्याल्चेन शेर्पाले ६० केजी तौल समुहमा काश्य पदक जितेका हुन् ।
दुबै खेलाडीहरुले क्वार्टर फाइनलमा बाई पाएर सिधैं सेमिफाइनल खेलेका थिए । सेमिफाइनलमा शेरपले आयोजक ब्राजिली प्रतिद्वन्द्वीसँग कडा प्रतिस्पर्धा गरेपनि जित भने हात पार्न सकेनन् । तीन राउन्डको भीडन्तमा शेरपले दोस्रो र तेस्रो चरणमा राम्रो गरेपनि पहिलो राउन्डमा उनी पछि पर्न गएका थिए ।
गतवर्ष काठमाडौंमा भएको अल नेपाल स्कुल ब्वाइज बक्सिङ प्रतियोगितामा स्वर्ण जितेका शेरपबाट स्वर्ण पदकको आशा गरिएको थियो । शेरप भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्ने प्रतिक्रिया दिदैँ उनका प्रशिक्षक प्रकाश थापा मगरले भने, ‘आयोजकविरुद्ध उनीहरुको घरमा खेल्न शुरुमा खेल सम्हाल्न शेरपलाई समय लाग्यो । दोस्रो र तेस्रो चरणमा राम्रो खेलेपनि जित्न सकेनन तर उनी भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्छन् ।’
प्रकृती सेमीफाइनलमा क्रोयसियाका खेलाडीसँग ‘आरएससी’ आउट हुन पुगेकी हुन् । पहिलो राउन्डमा उनले दुई पटक ‘काउन्ट’ खाएपछि दोस्रो राउन्ड खेल्न पाइनन् ।
त्यसैगरी, बास्केटबलतर्फ महिला ३ अन ३ माचिलीसँग पराजित भएपछि नेपाल बाहिरिएको छ । त्यसरी नै पौडीतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोकमा सहभागि नेपालका सुगम श्रेष्ठले पनि पदक जित्न सकेनन् ।
प्रतियोगितामा समावेश गरिएको १८ खेलमध्ये नेपालले ५ खेल बक्सिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस र बास्केटबलमा सहभागिता जनाएको छ ।
अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट्स महासंघ (आइएसएफ)को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यो वर्ष अगस्ट १७ देखि २५ तारिखसम्म हुँदैछ । यो १३ देखि १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो । प्रतियोगितामा ४४ राष्ट्रबाट २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।