काठमाडौं । राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा तेक्वान्दो मुख्यालय कुकिवनबाट छैटौँ डानको प्रमाणपत्र प्राप्त गरेका छन् । नेगीलाई नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले कुकिवनबाट प्राप्त छैटौँ डानको प्रमाणपत्र आज(मंगलबार) हस्तान्तरण गरेका हुन् ।
छैटौँ डान प्राप्त गर्न नेपाल तेक्वान्दो संघबाट ६औँ डानको ग्रेडिङमा उत्तिर्ण गरेको हुनु पर्ने, Jitae, Shipjin, Pyongwon तथा Taebaek पुम्से तथा स्पारिङ्गको भिडियो पठाउनु पर्ने र कुनै विषयमा थेसिस लेखेर हेडक्वाटर कुक्किवन कोरियामा पठाउनु पर्ने हुन्छ । पारा तेक्वान्दो इन नेपालमा थेसिस लेखेर पठाएको नेगीले बताएका छन् ।
नेगीले सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम समहाल्दै आएका छन् । टोकियो २०२० पारा ओलम्पिकमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले दुई फाईट जितेर इतिहास रच्दा नेगी प्रशिक्षकका रुपमा टोकियो गएका थिए । बहराइनमा भएको एसियन युथ पारा गेम्स–२०२१ मा नेपालले पारा तेक्वान्दोमा १ स्वर्ण, १ रजत, १ काँस्य पदक जित्दा पनि नेगी टोली प्रशिक्षक थिए ।
नेगीको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय पारा तेक्वान्दोअन्तर्गत ८औँ वल्र्ड च्याम्पियनसिप–२०१९ टर्कीमा १ कास्य, साउदी अरबियामा भएको रियाद २०२२ वल्र्ड ग्रान्ड प्रिक्स फाईनल जि–१० प्रतियोगितामा सिर्जना घिसिङले वल्र्ड र्याङकिङमा रहेका टर्की, मेक्सिको र ब्राजिलका खेलाडीलाई पराजय गरेर एतिहासिक स्वर्ण जितेको थियो ।
पलेशा गोर्वधन २०१५ तथा सिर्जना घिसिङ २०१९ देखि आफूसँग प्रशिक्षण गर्दै आईरहेको नेगीले जानकारी गराए । नेगीका अनुसार हाल पलेशा गोर्वधन र सिर्जना घिसिङ विश्व वरियताको ७औँ स्थानमा छन् ।