काठमाडौं । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तरगतको यु–१५ र यु–१७ दुबैतर्फ मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ । सशस्त्र प्रहरी बल नेपालको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यु–१५ तर्फको प्रतिस्पर्धामा नेपाललाई ३–० ले पराजित गर्दै श्रीलंकाले उपाधि उचालेको हो ।
श्रीलंकका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१–१७, २१–१७ को समान अन्तरले पराजित गरे । यस्तै नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१–८, २१–१३ ले पराजित गरे । यसैगरि, केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–१७ ले पराजित गर्दै उपाधीमा श्रीलंकको नाम लेखाउन सफल भए । तेश्रो स्थानमा बंगलादेश र भुटान रहे ।
यस्तै, यु–१७ तर्फ पनि श्रीलंकाले बंगलादेशलाई ३–२ सेटले पराजित गर्दै उपाधि उचालेको हो । पहिलो सेट बंगालादेशका एसएसएम सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१–९, १३–२१, २१–१८ ले पराजित गर्दै खेललाई १–० को अवस्थामा पुर्याए । दोश्रो खेलमा श्रीलंकाका रनिथ्मा लियानागेले बंगलादेशका सिन्थिया खानोम प्रियोन्तीलाई २१–२, २१–४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
तेश्रो खेलमा पुनःराजोन मिया र एसएसएम सिफात उल्लाहको जोडीले श्रीलंकका हिरुका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्यायो । चौथो खेलमा श्रीलंकाका रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले बंगलादेशका मथेना मधुरजो विश्वास र सिन्थीया कानोम प्रियान्तीको जोडीबाट वाक ओभर प्राप्त गरे पश्चात खेल २–२ को बरावरीमा पुग्यो ।
अन्तिम तथा निर्णाकक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका एसएसएम सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले पराजित गर्दै खेललाई ३–२ ले आफ्नो पक्षमा पार्दै श्रीलंकालाई उपाधि विजेता बनाए । तेश्रो स्थानमा भुटान र नेपाल रहे ।