काठमाडौं । स्पेनले आफ्नो तेस्रो सहभागितामै इंग्ल्यान्डलाई हराउँदै फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ । अस्ट्रेलियाको सिड्नी रंगशालामा आईतबार भएको फाइनलमा इंग्ल्यान्डलाई १-० गोलअन्तरले हराउँदै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको च्याम्पियन बनेको हो ।
यससँगै स्पेन महिला विश्वकप जित्ने पाँचौं राष्ट्र बनेको छ । यसअघि अमेरिका, जर्मनी, नर्वे र जापान च्याम्पियन बनेका थिए । महिला विश्वकपको तेस्रो सहभागितामै च्याम्पियन बनेको स्पेन जर्मनीपछि पुरुष र महिला दुवैतर्फ विश्वकप उपाधि जित्ने दोस्रो टिम बन्यो ।
स्पेनलाई उपाधि दिलाउन कप्तान ओल्गा कार्मोनाले खेलको पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । उनले मारियोना क्याल्डेन्टीको पासमा खेलको २९औं मिनेटमा १८ यार्ड बक्सभित्रबाट सुन्दर ‘फर्स्ट टच’ गोल गरेकी थिइन् । त्यसपछि, दुवै टोलीबाट थप गोल हुन सकेन ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको १६औं मिनेटमा लौरेन हेम्पको प्रहार क्रसबारमा लाग्दै फर्कदा इंग्ल्यान्ड अग्रता लिनबाट चुकेको थियो । स्पेनले खेलको ६९औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाएकी थिइन् । तर पनि उनले टिमलाई उपाधि जिताउन सकिनन् ।
स्पेन भने विश्वकपमा ‘डेब्यू’ गरेको तेस्रो सहभागितामै च्याम्पियन बनेको छ । सन् २०१५ को संस्करणमा डेब्यू गरेको स्पेनको यो तेस्रो सहभागिता हो । गत संस्करणमा प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गर्नु नै स्पेनको यसअघिको उत्कृष्ट नतिजा थियो ।
स्पेन समूह ‘सी’ मा दोस्रो हुँदै नवौं विश्वकपको नकआउट चरणमा पुगेको थियो । समूहगत चरणमा स्पेनले कोस्टारिका र जाम्बियालाई ३-० ले हराएको थियो । जापानसँग भने स्पेन ४-० ले पराजित भएको थियो । प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई ५-१ गोलअन्तरले हराएको थियो ।
यस्तै, अन्तिम–८ मा नेदरल्यान्ड्सको चुनौती २-१ गोलअन्तरले पन्छाएको स्पेनले सेमिफाइनलमा विश्वकपको सदाबहार दाबेदार स्विडेनलाई २-१ गोलअन्तरले हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाएको थियो ।
इंग्ल्यान्डले सह-आयोजक अष्ट्रेलियालाई ३-१ गोलअन्तरले हराउँदै पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको थियो । यसैगरी सह-आयोजक अस्ट्रेलियालाई २-० गोलअन्तरले पराजित गर्दै स्विडेनले फिफा महिला विश्वकप फुटबल २०२३ मा तेस्रो स्थान हासिल गरेको थियो ।