काठमाडौं । स्वीडेनलाई पराजित गर्दै स्पेन फिफा महिला विश्वकप फुटबल २०२३ को फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको खेलमा स्वीडेनलाई २–१ गोलअन्तरले हराउँदै स्पेन पहिलोपल्ट फाइनलमा प्रवेश गरेको हो ।
महिला विश्वकपको इतिहासमा सुरुवाती ६ संस्करणमा सहभागीता नजनाएको स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि-क्वाटरफाइनलबाट बाहिरिएको थियो । स्पेनको जितमा साल्मा पारालुइलो र ओल्गा कार्मोनाले समान एक/एक गोल गरिन् ।
स्विडेनी स्ट्राइकर रेबेका ब्लोमक्विस्टले एक गोल फर्काए पनि टिमको हार टार्न भने सकिनन् । खेलको ८१औं मिनेटसम्म गोलरहित बराबरी भएको खेलमा त्यसपछिको ८ मिनेट भित्र ३ गोल भएको थियो । स्पेनकी साल्मा पारालुइलोले ८१औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।
तर, त्यो अग्रता स्पेनले ७ मिनेटपछि गुमाएको थियो । खेलको ८८औं मिनेटमा लिना हार्टिगको हेडर असिस्टमा रेबेका ब्लोमक्विस्टले गोल गर्दै खेल बराबरी गरिन् । तर, स्पेनले त्यसको एक मिनेट पनि नबित्दै फेरि अग्रता बनायो ।
खेलको ८९औं मिनेटमा ओल्गा कार्मोनाले कर्नरबाट आएको बललाई पोष्टको दिशा दिइन् । उनले हानेको बल पोष्ट बारमा ठोकिँदै गोल भएको थियो । त्यसपछि, थप गोल हुन नसकेपछि स्पेन महिला विश्वकपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो ।
स्पेनसँगको हारसँगै महिला विश्वकपको सबैं संस्करणमा सहभागी भएको स्वीडेन यसपटक पनि सेमिफाइनलभन्दा अघि बढ्न सकेन । स्वीडेन गत संस्करण सन् २०१९, १९९१ र २०११ मा पनि सेमिफाइनलबाट बाहिरिएको थियो ।
उपाधि दावेदार स्वीडेन तीनैपल्ट तेस्रो भएको थियो । महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा प्रवेश गरेको स्पेनले भने अब उपाधिका लागि २० अगस्टमा इंग्ल्यान्ड र आयोजक अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल खेल भोलि सिड्नी रंगशालामा नेपाली समय अनुसार पौने दुई बजे हुनेछ ।