काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्याडमा जारी फिफा महिला विश्वकप फुटबलमा इटालीमाथि रोमाञ्चक पूनरागमन जित निकाल्दै दक्षिण अफ्रिका प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको समूह ‘जी’ को खेलमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर दक्षिण अफ्रिकाले इटालीमाथि ३–२ गोल अन्तरको रोमाञ्चक पूनरागमन जित निकाल्दै उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।
दक्षिण अफ्रिकाको जितमा हिल्दाह मगाइया र थेम्बी गात्लानाले समान १/१ गोल गरेकी थिइन् । दक्षिण अफ्रिकाले एक गोल भने इटालीबाट आत्मघाति उपहार पाएको थियो । इटालीकी एरियाना कारुसोले दुई गोल गरे पनि टिमको हार टार्न सकिनन् ।
खेलको ११औं मिनेटमा एरिएना करुसोले पेनाल्टीमा गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाइन् । तर, खेलको ३२औं मिनेटमा बेनेडेट्टा ओर्सीले आत्मघाती गोल गरेपछि दक्षिण अफ्रिका खेलमा फर्कियो ।
खेलको ६७औं मिनेटमा हिल्दाह मागाएले गोल गर्दै दक्षिण अफ्रिकालाई २–१ को अग्रता दिलाइन् । खेलको ७४औं मिनेटमा रएना करुसोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा थेम्वीले गोल गर्दै दक्षिण अफ्रिकालाई ३–२ को रोमाञ्चक जित दिलाएर नकआउट चरणको यात्रा तय गराइन् । इटालीलाई नकआउट चरण पार गर्न बराबरी नै पर्याप्त थियो तर अन्तिम समयमा सम्हालिन नसक्दा गोल खाँदै बाहिरिन पुग्यो ।
पराजित इटालीले तीन खेलबाट तीन अंक जोडे पनि अन्तिम–१६ मा स्थान बनाउन सकेन । जितसँगै चार अंकसहित दक्षिण अफ्रिकाले भने अब क्वार्टरफाइनल प्रवेशका लागि समूह ‘ई’ को विजेता साविक उपविजेता नेदरल्यान्ड्सको सामना गर्नेछ ।
स्वीडेन समूह विजेता बन्दै नकआउट चरणमा
बुधबार भएको समूह ‘जी’ कै अर्को खेलमा अर्जेन्टिनाविरुद्ध २–० को जित निकाल्दै स्वीडेनले पनि अन्तिम–१६ को यात्रा निश्चित गर्यो । पराजित अर्जेन्टिनाले विश्वकपको यो संस्करण पनि जितविहीन टुंग्याएको छ ।
स्वीडेनको जितमा रेबेका ब्लोमक्युभिस्ट र एलिन रुबेनसनले समान समान १/१ गोल गरेकी थिइन् । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए पनि स्वीडेनले खेलको ६६औं मिनेटमा ब्लोमक्युभिस्टको गोलबाट सुरुआती अग्रता लिएको थियो ।
खेलको इन्जुरी समयमा रुबेनसनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । जितसँगै स्वीडेनले तीन खेलबाट नौ अंक जोडेर समूह ‘जी’ को विजेताको रुपमा प्रि–क्वार्टरफाइनलको यात्रा तय गर्यो । पराजित अर्जेन्टिना १ अंक जोडेर पुछारमा रह्यो ।