काठमाडौं । पाकिस्तानको ‘ए’ टोलीले एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप-२०२३ मा भारतको ‘ए’ टोलीलाई फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन भएको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रेमदाशा क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा भारत ‘ए’ टोलीलाई १ सय २८ रनको फराकिलो अन्तरले हराउदै पाकिस्तानको ‘ए’ टोली च्याम्पियन बनेको हो ।
पाकिस्तान एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा लगातार दोस्रो पटक च्याम्पियन भएको हो । यस अघि २०१९ मा भएको पछिल्लो संस्करणको उपाधि समेत पाकिस्तानले जितेको थियो । प्रतियोगितामा सहभागी नेपाल भने समूह चरणबाट नै बाहिरिएको थियो ।
पाकिस्तानको ‘ए’ टोलीले जितको लागि दिएको ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतको ‘ए’ टोली ४० ओभरमा २ सय २४ रनमा अल आउट भयो । भारतका ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
त्यस्तै, अर्का ओपनर साई सुदर्शन २८ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भएका थिए । भारत ‘ए’ टोलीलाई ओपनर साई सुदर्शन र अभिषेक शर्माले ८.३ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर, त्यसपछि कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
भारत ‘ए’ टोलीका कप्तान यश धुल ४१ बलमा ४ चौकासहित ३९ रनमा आउट भएका थिए । त्यस्तै, रियान पराग १४ रनमा, हर्षित राना १३ रनमा, निकिन जोस ११ रनमा, निशान्त सिन्धु १० रनमा र ध्रुब जुरेल ९ रनमा आउट भएका थिए ।
पाकिस्तानको ‘ए’ टोलीलाई च्याम्पियन बनाउन सुफियान मुकीमले १० ओभरमा ६६ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै, अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान २/२ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ‘ए’ टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । पाकिस्तान ‘ए’ टोलीका लागि तयब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित १ सय ८ रनको शनदार शतकीय इनिङ खेलेका थिए ।
पाकिस्तान ‘ए’ टोलीले १ सय २१ रनमा पहिलो विकेट गुमाएको थियो । उसका दुवै ओपनरले अर्धशतकीय ईनिङ खेलेका थिए । ओपनर सैब अयबले ५१ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाउँदा अर्का ओपनर सहबाज फरहामले ६२ बलमा ४ चौका र ४ छक्कासहित ६५ रन बनाएका थिए ।
मुबासिर खानले ४७ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाए । ओमिर युसुफ ३५ बलमा ४ चौकासहित ३५ रन बनाउँदै आउट भए । मेहरान मुमताज १३ रनमा र मोहम्मद हरिस २ रनमा आउट भए । मोहम्मद वासिम जुनियर १० बलमा १ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहेका थिए ।
भारत ‘ए’ टोलीका लागि राजवर्धन हगांगेकार र रियान परागले समान २/२ विकेट लिएका थिए । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान १/१ विकेट लिएका थिए । समूह चरणको खेलमा भने पाकिस्तान ‘ए’ टोली भारत ‘ए’ टोलीसँग ८ विकेटले पराजित भएको थियो ।
पाकिस्तान ‘ए’ टोलीको फाइनल खेलका नायक तयब ताहिर खेलको ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए । प्रतियोगितामा भारत ‘ए’ टोलीका लागि खेल अवधिभर ११ विकेट लिएका बलर निशान्त सिन्धु ‘प्लेयर अफ दी सिरिज’ घोषित भएका थिए ।