काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष नेशन्स लिग भलिबलको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । किर्गिस्तानको राजधानी बिस्केकको स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
कीर्गिस्तानमा जारी प्रतियोगितामा नेपालको यो लगातार छैटौं हार हो । प्रतियोगितामा नेपालले कुनै पनि खेल जित्न सकेन । आइतबार नेपाल आफ्नो छैठौं तथा अन्तिम खेलमा उज्वेकिस्तानसँग २५–२१, २५–२२ र २५–२३ को सोझो सेटमा पराजित भएको हो ।
यससँगै नेपाल अंक विहीन टोलीको रुपमा पुछारमा रहँदै स्वदेश फर्किने भएको छ । नेपालले यसअघि पहिलो खेलमा मंगोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक किर्गिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो ।
नेपाल तेस्रो खेलमा इरानसँग पराजित भएको थियो भने चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो । यस्तै, शुक्रबार आयोजक किर्गिस्तानको 'बी' टोलीसँग पराजित हुँदै नेपालले लगातार पाँचौं हार व्यहोरेको थियो ।
नेपालसहित ७ टोलीको सहभागिता रहेको काभा नेशन्स लिग पुरुष भलिबल प्रतियोगितामा नेपाल अंक तालिकाको पुछारमा रहेको छ । नेशन्स लिगमा नेपालसँगै आयोजक किर्गिस्तान ‘ए’ र ‘बी’ टोली, इरान, मंगोलिया, काजकस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान सहभागि छन् ।
किर्गिस्तानमा जारी सिंगल राउण्ड रोबिन आधारमामा भइरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै, तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।