काठमाडौं । नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल पुलिस क्लबकी राममाया बूढाले युथ ओपन फाइभ के रनको उपाधि शनिबार जितेका छन् । मुकेश पुरुषतर्फ र राममाया महिलातर्फ च्याम्पियन बनेका हुन् ।
एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित दौडको पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २७.८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका थिए । आर्मीका श्रीकाश राई (१६ मिनेट ०८.६ सेकेन्ड) मा दोश्रो तथा आर्मीकै सुशिलकुमार शाही (१६ मिनेट ०९.७ सेकेन्ड) मा तेश्रो भएका थिए ।
महिलातर्फ राममायाले निर्धारित दूरी १८ मिनेट ५३.२७ सेकेन्ड समयमा पूरा गर्दै उपाधि जितेकी हुन् । आर्मीकी पुर्णलक्ष्मी न्यौपाने (१८ मिनेट ५५.५० सेकेन्ड) मा दोश्रो तथा एपीएफकी आशा रावत (१९ मिनेट ३९.३२ सेकेन्ड) मा तेश्रो भएका थिए ।
प्रतियोगिताको दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने विजेताले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाएका थिए । पाँचौंदेखि दसौं स्थानमा दौड टुंग्याउने खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, पूर्व धावक बुद्धवीर लामा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपति, आयोजक परिवारका अध्यक्ष राजन खत्री, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।
‘चेतनशील युवा सशक्तिकरण’ भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा ४८ जिल्लाबाट ३ सय ८६ जना खेलाडीले दौडका लागि नाम दर्ता गराएको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका थिए ।