काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । स्ट्रासबर्गमा शनिबार राति भएको खेलमा घरेलु टोली स्टार्सवर्गसँग १-१ गोलको बराबरी खेल्दै पीएसजीले लिगमा एक खेल अगावै लिग वानको उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक खेलमा पीएसजीले सुरुआती अग्रता जोगाउन नसक्दा स्टार्सवर्गसँग अंक बाँड्न बाध्य बन्यो । पीएसजीका लागि लियोनेल मेस्सी गोल गर्दै अग्रता लिएपनि घरेलु टोली स्टार्सवर्गका केभिन गेमिरोले बराबरी गोल फर्काएका थिए ।
खेलको ५९ औं मिनेटमा केलियन एमबाप्पेको पासमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । युरोपियन शीर्ष पाँच लिगमा मेस्सीको यो ४९६ औँ गोल हो । यससँगै मेस्सीले क्रिष्टियानो रोनाल्डोको नाममा रहेको ४९५ गोलको कीर्तिमान तोडेका छन् ।
त्यसपछि, खेलको ७९ औं मिनेटमा केभिन गेमिरोले गोल गर्दै स्टार्सवर्गलाई १-१ गोलको बराबरीमा ल्याएर हारबाट जोगाएका थिए । तर, पीएसजीलाई उपाधि पक्का गर्न एक अंक यथेष्ट थियो । यस बराबरीसँगै च्याम्पियन पीएसजीले ३७ खेलमा ८५ अंक जोडेको छ ।
पिएसजीले लिगको अन्तिम खेलमा आगामी शनिबार क्लेरमोन्टको सामना गर्नेछ । पीएसजीले दोस्रो स्थानको लेन्ससँग चार अंकको अग्रता लिइसकेको छ । अन्तिम खेलमा पीएसजी पराजित भएर लेन्सले जिते पनि पीएसजी एक अंकले अगाडि हुन्छ । स्टार्सवर्ग ३७ खेलमा ४० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
यससँगै पीएसजीले फ्रेन्च लिग वानमा सबैभन्दा धेरै ११औँ पटक लिग उपाधि जित्न सफल भएको छ । लिग वानमा मार्से र सेन्ट इटिनेले समान १०/१० पटक लिग उपाधि जितेका छन् । पीएसजीको पछिल्लो ११ वर्षमा यो नवौँ लिग उपाधि हो ।