काठमाडौं । युवा ब्याटर शुभमन गिलको शतक र मोहित शर्माको घातक बलिङसँगै साबिक विजेता गुजरात इन्डियन प्रिमियर लिग आइपीएलको फाइनलमा प्रवेश गरेको छ । नरेन्द्र मोदी क्रिकेट रंगशाला अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात टाईटन्सले फाइनलमा चेन्नई सुपर किंग्ससँग भेट पक्का गरेको हो ।
पछिल्लो समय उच्च लयमा रहेको मुम्बई भने फाइनल पुग्न चुक्यो । गुजरातले जितको लागि दिएको २ सय ३४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले १८ दशमलब २ ओभरमा अलआउट हुदै १ सय ७१ रन मात्र जोड्न सक्यो ।
मुम्बईका लागि सुर्यकुमार यादवले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६१ रनको अर्धशतकीय ईनिङ्स खेलेका थिए । त्यस्तै, तिलक बर्मा १४ बलमा ५ चौका र ३ छक्कासहित ४३ रन तथा क्यामरन ग्रीन २० बलमा २ चौका र २ छक्कासहित ३० रनमा आउट भएका थिए ।
मुम्बईका अन्य कुनैपनि ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर तथा कप्तान रोहित शर्मा ८ रन, विष्णु बिनोद ५ रन, नेहाल वढेरा ४ रन, र टिम डेविड २ रनमा आउट भएका थिए । गुजरातका लागि मोहित शर्माले २.२ ओभरमा १० रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए । मोहम्मद शामीले ३ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जोशुवा लिटिलले एक विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर विशाल २ सय ३३ रन बनाएको थियो । गुजरातका लागि युवा ब्याटर शुभमन गिलले उत्कृष्ट प्रदर्शन गर्दै ६० बलमा ७ चौका र १० छक्कासहित १ सय २९ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
गिलले जारी सिजनमा आफ्नो तेस्रो शतक ४९ बलमा पूरा गरेका थिए । साई सुदर्शन ३१ बलमा ५ चौका र १ छक्कासहित ४३ रनमा रिटायर्ट आउट भए । यस्तै, हार्दिक पाण्ड्याले १३ बलमा २ चौका र २ छक्कासहित अविजित २८ रन र ऋद्धिमान साहले १६ बलमा ३ चौकासहित १८ रनको योगदान दिएका थिए । मुम्बईका लागि पियुष चावला र आकाश माधवालले समान १/१ विकेट लिएका थिए ।
अब १६ औं संस्करणको आइपीएलको उपाधिका लागि आइतबार अहमदाबादमा साबिक विजेता गुजरातले चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सको सामना गर्नेछ । चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।