काठमाडौं । नेपालमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा साविक विजेता नेपाल सेमिफाइनलबाटै बाहिरिन पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजकिस्तानसँग पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिन पुगेको हो ।
घरेलु मैदानमा प्रतिस्पर्धात्मक खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । घरेलु टोली नेपाल पाचौँ तथा निर्णायक सेटमा सुरुवातदेखि नै पछि परेर काजकिस्तानसँग १५–७ ले पराजित भएको थियो ।
प्रतिस्पर्धात्मक पहिलो सेट २८–३० ले गुमाएको नेपालले त्यसपछि २५–१६,२५–१५ ले जित्दै उत्कृष्ट पुरागमन गरेका थियो । तर, चौथो सेट काजकिस्तानले २५–१८ ले जितेपछि खेल पाँचौँ सेटमा पुगेको थियो । जितसँगै अब काजकस्तानले उपाधिका लागि भारतको सामना गर्नेछ ।
भारतले शुक्रबारै उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । पराजित नेपाल तेस्रो स्थानका लागि उज्वकिस्तानसँग खेल्ने भएको छ । फाइनल र तेस्रो स्थानको खेल आइतबार हुनेछ ।
नेपाल भलिबल संघको आयोजना तथा राखेपको विशेष सहयोगमा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा घरेलु टोली नेपाल सहित बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।