काठमाडौं । नेपालमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई हराउदै भारत फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा उज्वेकिस्तानलाई ३-० को सोझो सोटमा हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।
उज्वेकिस्तानमाथि पहिलो सेटमा २५-१७ को जित निकालेको उपाधिको दाबेदार भारतले दोश्रो सेटमा ६ अंकले पछि परेको स्थिती उल्टाएर २५-२० को जित र तेश्रो सेटमा २५-१५ को सहज जित निकालेको हो । अपराजित भारतले अब उपाधिको लागि नेपाल र काजकिस्तानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
घरेलु टोली नेपाल र काजकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । नेपाल समूह 'ए' को तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा नतिजा सुम्पिएर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । एसियाको शीर्ष पाँचौ वरीयतामा रहेको काजकिस्तान समूह 'बी' को तीनवटै खेल जितेर समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
नेपाल लगातार तेस्रोपटक उपाधि जितेर ह्याट्रिकको लक्ष्यमा रहेकोले आज काजकिस्तानलाई पराजित गर्नुपर्नेछ । भारतविरुद्धको खेलमा गरेको गल्ती काजकिस्तानविरुद्ध नदोहोर्याउने नेपालको योजना हुनेछ । कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको नेपालले बलियो टोली भारतलाई ३-१ को सेटमा नतिजा सुम्पिएको थियो ।
नेपाल भलिबल संघको आयोजना तथा राखेपको विशेष सहयोगमा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा घरेलु टोली नेपाल सहित बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।