काठमाडौं । तीव्र गतिका बलर आकाश माधवालको घातक बलिङमा लखनउलाई हराउदै मुम्बई इन्डियन प्रिमियर लिग आइपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । एमए चिदम्बरम क्रिकेट रंगशाला चेन्नाईमा बुधबार राति भएको एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले गुजरात टाइटन्ससँग भेट पक्का गरेको हो ।
मुम्बईले जितको लागि दिएको १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले १६.३ ओभरमा अलआउट हुदै १ सय १ रन मात्र जोड्न सक्यो । लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाएका थिए ।
कायल मेयर्स १३ बलमा ३ चौकासहित १८ रन र दीपक हुडा १३ बलमा १ छक्कासहित १५ रनमा आउट भएका थिए । लखनऊका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुम्बईका लागि आकाश माधवालले ३.३ ओभरमा ५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । यस्तै, क्रिस जोर्डन र पियुष चवालाले समान १/१ विकेट लिए । लखनउका तीन ब्याटर रन आउट भएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए ।
यस्तै, सूर्यकुमार यादवले २० बलमा २ चौका र २ छक्कासहित ३३ रन, तिलक वर्माले २२ बलमा २ छक्कासहित २६ रन, नेहाल वढेराले १२ बलमा २ चौका र २ छक्कासहित २३ रन, ओपनर ईशान किशनले १२ बलमा ३ चौकासहित १५ रन र टिम डेविडले १३ बलमा १ चौकासहित १३ रन जोडेका थिए ।
लखनऊका लागि नविन उल हकले ४ ओभरमा ३८ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । यश ठाकुरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । यस्तै, मोहसिन खानले एक विकेट लिएका थिए । पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । शुक्रबार गुजरात र मुम्बईबीच दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले आइतबार अहमदाबादमा चेन्नईसँग फाइनलमा खेल्नेछ ।