काठमाडौं । नेपालका अशोक खड्का र कोसिस बहादुर खड्काले अजरवैजानमा भएको १३८ औँ क्योरुगी इन्टरनेसनल रेफ्री सेमिनारमा सहभािगता जनाउनुभएको छ । सो चार दिने सेमिनार गत आइतबार सुरु भएर बुधबार सम्पन्न भएको हो ।
विश्व तेक्वान्दोले अजरवैजान तेक्वान्दो महासंघसँगको संयोजनमा आयोजना गरेको सो सेमिनारअन्तर्गत रिफ्रेसर कोर्समा विश्व तेक्वान्दो रेफ्रीका अध्यक्ष एम्ले मोरस र पारा रेफ्रीका अध्यक्ष चारकोर चालभाटले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
नेपालको प्रतिनिधित्व गरेका रेफ्री अशोकले उहाँहरुले मुख्यत विश्व तेक्वान्दोका नयाँ नियमहरुबारे प्रशिक्षण दिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्यक्रममा विश्वक तेक्वान्दो च्याम्पियन्सीप अजरवैजानको बाकुकमा हुने तय पनि गरिएको छ ।
तेक्वान्दो टोलीको बिदाइ
अजरवैजानको बाकु शहरमा सञ्चालन हुने बाकु २०२३ वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ । बुधबार युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले सहभागी हुने टिमका खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरेका थिए । प्रतियोगिता जेठ १५ देखि २१ गतेसम्म आयोजना हुँदैछ ।
प्रतियोगितामा पुरुषतर्फ वीर बहादुर महरा, निरज देउबा, गोविन्द बहादुर आले र सुमित विष्ट सहभागी छन् । महिलातर्फ इन्दिरा बस्नेत, आयशा लामा, काजल श्रेष्ठ, र युनिशा राई रहेका छन् । प्रशिक्षकमा बब्लु शिवाकोटी र निशा रावल बाकु जाने छन् । बिदाइमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, महासचिव दिपराज गुरुङ र केन्द्रीय सदस्य कुमार लामा घिसिङ लगायतको उपस्थिति रहेको थियो ।