काठमाडौं । नेपालमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा दिउँसो ३ बजे हुने खेलमा घरेलु टोली नेपाल बलियो प्रतिस्पर्धी भारतलाई हराउँदै इतिहास कोर्ने लक्ष्यमा हुनेछ ।
समूह 'ए' बाट नेपाल र भारत दुवैले सेमिफाइनलमा स्थान बनाइसकेकाले आजको नतिजाले समूह विजेता र उप विजेताको टुंगो लगाउनेछ । नेपाल र भारत आजको खेल जितेर समूह विजेता बन्ने दुवै टिमको लक्ष्य हुनेछ । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।
नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारत भिडेका थिए । जहाँ, पहिलो दुई सेट आफ्नो पक्षमा पारेको घरेलु टोली नेपालले त्यसपछि लगातार तीन सेट गुमाएसँगै रजत पदकमा चित्त बुझाउनु परेको थियो ।
आजै हुने समूह 'बी' को खेलमा काजकिस्तान र उज्वेकिस्तान पनि समूह विजेताका लागि साढे १२ बजे प्रतिस्पर्धा गर्दैछन् । लगातार दुई जितपछि काजकिस्तान र उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश गरिसकेका छन् । आज नै श्रीलंका र माल्दिभ्स साँझ साढे ५ बजे, किर्गिस्तान र बंगलादेश १० बजे सान्त्वना जितको खोजीमा हुनेछन् ।
नेपाल भलिबल संघको आयोजना तथा राखेपको विशेष सहयोगमा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । समूह 'ए' मा घरेलु टोली नेपाल सहित भारत, बंगलादेश र किर्गिस्तान छन् । समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।