काठमाडौं । साबिक विजेता गुजरातलाई हराउदै चेन्नाई दशौं पटक इन्डियन प्रिमियर लिग आइपीएलको फाइनलमा प्रवेश गरेको छ । चेपकस्थित एमए चेन्नास्वामी क्रिकेट रंगशालामा मंगलबार राति भएको खेलमा गुजरात टाईटन्समाथि १५ रनको जित निकाल्दै चार पटकको आईपीएल च्याम्पियन चेन्नाई सुपर किंग्स फाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा चेन्नाईले जितका लागि दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय ५७ रन मात्र जोड्न सक्यो । गुजरात आइपीएलको ईतिहासमा पहिलो पटक अलआउट भएको हो ।
गुजरातका लागि ओपनर शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४२ रन बनाएका थिए । राशिद खानले १६ बलमा ३ चौका र २ छक्का सहयोगमा ३० रन बनाए । दाशुन शनकाले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन, विजय शंकरले १० बलमा १ छक्काको सहयोगमा १४ रन बनाएका थिए । गुजरातले ओपनर ऋद्धिमान शाहलाई १२ रनमा गुमाएको थियो । गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
चेन्नईका लागि रविन्द्र जडेजाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । महेश थिक्सेनाले ४ ओभरमा २८ रन खचेर २ विकेट लिए । दीपक चाहरले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । मथिशा पाथिरानाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । तुषार देशपान्डेले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । चेन्नाईका लागि दुई रनमा जीवनदान पाएका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६० रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
अर्का ओपनर डेभन कन्वेले ३४ बलमा ४ चौकाको सहयोगमा ४० रन बनाएका थिए । यस्तै, रवीन्द्र जडेजाले १६ बलमा २ चौकासहित २२ रन, अजिंक्य रहाणे र अम्बाती रायडूले समान १७/१७ रन जोडेका थिए । कप्तान महेन्द्र सिंह धोनी र शिवम दुबे समान १/१ रनमै आउट भएका थिए ।
मोईन अली ४ बलमा १ छक्कासहित ९ रनमा नटआउट रहे । गुजरातका लागि मोहम्मद शामीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिएका थिए । मोहित शर्माले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । यस्तै, नुर अहमद, राशिद खान र दर्शन नालकंडेले समान १/१ विकेट लिएका थिए ।
बुधबार एलिमिनेटर खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार एलिमिनेटरको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरातसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार आइपिएलको फाइनल खेल अहमदाबादमा हुनेछ ।