काठमाडौं । नेपालमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तरगत नेपालले लगातार दोस्रो जित हात पारेको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार भएको खेलमा बंगलादेशलाई ३-० को सोझो सोटमा हराउँदै घरेलु टोली नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।
बंगलादेशमाथि पहिलो सेटमा २५-१० को जित निकालेको नेपालले दोश्रो सेटमा २५-८ को जित र तेश्रो सेटमा २५-९ को सहज जित निकालेको हो । प्रतियोगिताको बलियो टोलीका रुपमा रहेको नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पनि २५-११, २५-१९ र २५-११ को सोझो सोटमा पराजित गरेको थियो ।
आज बंगलादेशविरुद्धको खेलबाट पहिलो रोजाईमा खेल्दै नेपालका चार खेलाडी मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र लिवेरो शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरिन् । यससँगै राष्ट्रिय टोलीमा परेका सबै ६ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । सोमबार मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले डेब्यु गरेका थिए ।
आजको जितसँगै समूह 'ए' को नेपालले ६ अंक जोडेको छ । यस समूहबाट समान ६ अंक नै भएको भारत पनि सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार नै भारतले किर्गिस्तानमाथि र काजकिस्तानले श्रीलंकामाथि जित निकालेका छन् ।
मंगलबार भएको पहिलो खेलमा किर्गिस्तानमाथि पहिलो सेटमा २५-१७ को जित निकालेको भारतले दोश्रो सेटमा २५-८ को जित र तेश्रो सेटमा पनि २५-८ को सहज जित निकालेको थियो । मंगलबारको दोस्रो खेलमा काजकिस्तानले श्रीलंकालाई ३-१ को सेटमा हराएको थियो ।
काजकिस्तानले पहिलो सेटमा २५-१६ को सहज जित निकालेको थियो भने निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २८-२६ ले जितेको थियो । श्रीलंकाले तेस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्दा निकै रोमाञ्चक बनेको चौथो सेट २९-२७ ले जित्दै काजकिस्तानले खेल आफ्नो पक्षमा पारेको थियो ।
आजको जितसँगै समूह 'बी' को काजाकिस्तानको ६ अंक भएको छ । पहिलो खेलमा काजाकिस्तानले मालदिभ्सलाई ३-० को सोझो सोटमा पराजित गरेको थियो । यसैगरी मंगलबार नै साँझ ६ः३० बजे उज्वेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल भलिबल संघको आयोजना तथा राखेपको विशेष सहयोगमा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । समूह 'ए' मा घरेलु टोली नेपाल सहित भारत, बंगलादेश र किर्गिस्तान छन् । समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।