काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाबमाथि राजस्थानले जित निकाल्दै प्लेअफ सम्भावना कायमै राखेको छ । धर्मशालास्थित एचपीसीए क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ४ विकेटले हराएको हो ।
यस जितसँगै प्लेअफ पुग्ने राजस्थानको झिनो आशा जीवितै रहेको छ । पञ्जाबले जितका लागि दिएको १ सय ८८ रनको विजयी लक्ष्य राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा देवदत्त पडिकल र यशस्वी जैसवालले अर्धशतकीय पारी खेलेका थिए ।
देवदत्त पडिकलले ३० बलमा ५ चौका र ३ छक्का सहित ५१ रन बनाए । यशस्वी जैसवालले ३६ बलमा ८ चौका सहित ५० रन बनाएका थिए । यस्तै, शिमरोन हेटमायरले ४६ रन, रियान परागले २० रन र ध्रुव जुरेलले अविजित १० रन जोडेका थिए । पञ्जाबका लागि कागिसो रबाडाले २ विकेट, राहुल चाहर, नाथन एलिस, अर्शदीप सिंह र साम करनले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । पञ्जाबका लागि साम करनले ३१ बलमा ४ चौका र २ छक्का सहित अविजित ४९ रन तथा शाहरुख खानले २३ बलमा ४ चौका तथा २ छक्का सहित ४१ रन बनाएका थिए ।
यस्तै, जितेश शर्माले २८ बलमा ३ चौका र ३ छक्का सहित ४४ रन, अर्थव ताडेले १९ रन र कप्तान शिखर धवनले १७ रन जोडेका थिए । राजस्थानका लागि नवदीप सैनीले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै, ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १/१ विकेट हात पारेका थिए ।
जितसँगै राजस्थान १४ खेलबाट १४ अंकका साथ पाँचौ स्थानमा रहेको छ । पराजित पञ्जाबको १४ खेलमा १२ अंक रहेको छ । अहिलेसम्म दिल्ली, हैदराबाद र पञ्जाब प्लेअफको दौडबाट बाहिरिए पनि राजस्थानको झिनो आशा जीवितै रहेको छ ।
दश टोली सहभागी आइपिएलमा अहिलेसम्म प्लेअफको स्थान सुरक्षित गरिसकेको गुजरात १३ खेलबाट ९ जित र ४ हारका साथ १८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । चेन्नईको १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान खेलमा १५ अंक भएपनि नेटरनरेटका कारण लखनऊ तेस्रो स्थानमा रहेको छ । बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंक जोडेर चौथो स्थानमा रहेको छ । मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।