काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आइपीएलमा हैदराबादमाथि बेंगलोरले सानदार जित निकालेको छ । राजिव गान्धी क्रिकेट रंगशालामा बिहीबार राती भएको ६५ औं खेलमा रोयल च्यालेन्जर्स बेंलोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको हो ।
यस जितसँगै बेंगलोरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावनालाई बलियो बनाएको छ । घरेलु टोली हैदराबादले जितका लागि दिएको १ सय ८७ रनको विजयी लक्ष्य बेङ्लोरले १९.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । बैंगलोरको सानदार जितमा ओपनर विराट कोहलीले शतकीय पारी खेलेका थिए ।
कोहली ६३ बलमा १२ चौका र ४ छक्कासहित १०० रन बनाएर आउट भएका थिए । कोहलीले आइपिएलमा बनाएको यो छैटौं शतक हो । कोहलीले आइपीएलमा क्रिस गेलले बनाएको ६ शतकको रेकर्डको बराबरी गरेका छन् । दिग्गज ब्याट्सम्यान कोहली खेलको प्लेयर अफ द म्याच बनेका थिए ।
त्यस्तै, कप्तान फाफ डुप्लेसिस ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनमा आउट भएका थिए । पहिलो विकेटका लागि ओपनर कोहली र कप्तान डुप्लेसिसले १०८ बलमा १७२ रनको बलियो साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए । ग्लेन म्याक्सवेल ५ रन र माइकल बेसवेल ४ रनमा नटआउट रहे । हैदराबादका लागि टि नटराजन र भुवनेश्वर कुमारले समान एक/एक विकेट लिएका थिए ।
त्यसअघि, घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो । हैदराबादका लागि विकेटकिपर हेनरिक क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि घरेलु टोलीलाई जिताउन भने सकेनन् ।
आईपीएलको इतिहासमा पहिलोपटक एकै खेलमा दुवै टिमका ब्याटरले शतक प्रहार गरेका हुन् । त्यस्तै, ह्यारी ब्रुकले २७ रन, कप्तान एडेन मार्क्रमले १८ रन, राहुल त्रिपाठीले १५ रन र अभिषेक शर्माले ११ रन बनाएका थिए । बेंगलोरका लागि मिचेल ब्रासवेलले २ विकेट लिए भने मोहमद सिराज, शहबाज अहमद र हर्षल पटेलले समान एक/एक विकेट लिएका थिए ।
जितसँगै बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंक जोडेर चौथो स्थानमा रहेको छ । त्यस्तै प्लेअफको दौडबाट बाहिरिएको सनराइजर्सको १३ खेलमा ८ अंक रहेको छ । दश टोली सहभागी आइपिएलमा अहिलेसम्म प्लेअफको स्थान सुरक्षित गरिसकेको गुजरात १३ खेलबाट ९ जित र ४ हारका साथ १८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।
चेन्नईको १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान खेलमा १५ अंक भएपनि नेटरनरेटका कारण लखनऊ तेस्रो स्थानमा रहेको छ । मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । प्लेअफ दौडमा राजस्थान र कोलकता भए पनि उनीहरूको सम्भावना निकै कम रहेको छ ।