काठमाडौं । शुभमन गिलको शतकको सहयोगमा इन्डियन प्रिमियर लिग आइपीएलमा साबिक विजेता गुजरात टाइटन्स प्लेअफमा प्रवेश गरेको छ । नरेन्द्र मोदी क्रिकेट रंगशालामा सोमबार राती भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै गुजरात प्लेअफमा प्रवेश गरेको हो । पराजित हैदराबाद भने प्लेअफ दौडबाट बाहिरिएको छ ।
भारतमा जारी सिजनमा हैदराबाद प्लेअफ दौडबाट बाहिरिने दोस्रो टोली बन्यो । यसअघि पुछारमा रहेको दिल्लीको पनि प्लेअफ यात्रा सकिएको थियो । घरेलु मैदानमा गुजरातले जितका लागि दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र जोड्न सक्यो ।
हैदराबादका लागि विकेटकिपर हेनरिक क्लासेनले ४४ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । यस्तै, भुवनेश्वर कुमारले २७ रन, मयंक मार्कन्डेले अविजित १८ रन र कप्तान एडन मार्कमले १० रन जोडे भने बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
गुजरातका लागि मोहम्मद सामीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । यस्तै, मोहिल शर्माले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट तथा यश दयालले १ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । गुजरातका लागि ओपनर शुभमन गिलले ५८ बलमा १३ चौका र १ छक्कासहित सर्वाधिक १ सय १ रनको शतकीय ईनिङ्स खेलेका थिए । गिलले आइपिएल करियरमा ५६ बलमा पहिलो शतक बनाएका थिए ।
यस्तै, साई सुदर्शनले ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाए । गिल र सुदर्शनले १ सय ४७ रनको शतकीय साझेदारी गरेका थिए । गुजरातका बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । गुजरातले ४२ रन बनाउँदा ८ विकेट गुमाएको थियो ।
हैदराबादका लागि भुवनेश्वर कुमारले ४ ओभरमा ३० रन खर्चिएर सर्वाधिक ५ विकेट लिएका थिए । यस्तै, फजल हक फारुकी, मार्को जेन्सन र टी नटराजनले समान १/१ विकेट लिएका थिए । जितसँगै गुजरात १३ खेलबाट ९ जित र ४ हारका साथ १८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित हैदराबाद १२ खेलमा ४ जित र ८ हारका साथ ८ अंकसहित नवौँ स्थानमा रहेको छ ।
दश टोली सहभागी आइपिएलमा प्लेअफको लागि अब सात टिमबीच प्रतिस्पर्धा रहेको छ । सातमध्ये दोस्रो स्थानको चेन्नई सुपर किंग्सले १३ खेलबाट १५ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको मुम्बईले ११ खेलबाट १४ अंक जोडेको छ । चौथो स्थानमा रहेको लखनउले १२ खेलबाट १३ अंक जोडेको छ ।
यस्तै, बैंग्लोर, राजस्थान र कोलकाताको समान १२/१२ अंक रहेको छ । तीनमध्ये बैंग्लोरले २ खेल तथा राजस्थान र कोलकाताले समान १/१ खेल मात्र खेल्न बाँकी रहेको छ । यस्तै, आठौँ स्थानमा रहेको पञ्जाबले १२ खेलबाट १२ अंक जोडेको छ । पञ्जाबले लिग चरणमा अझै २ खेल खेल्न बाँकी रहेकाले प्लेअफ सम्भावना कायमै रहेको छ ।