काठमाडौं । युवा ब्याटर यशस्वी जैसवालको आक्रामक ब्याटिङमा इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकातामाथि राजस्थानले शानदार जित निकालेको छ । इडेन गार्डेनमा बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको हो ।
कोलकाताले जितको लागि दिएको १ सय ५० रनको विजयी लक्ष्य राजस्थानले १४ ओभरमा नै पूरा गरेको थियो । राजस्थानको छैटौँ जितमा २१ वर्षीय जैसवालले ४७ बलमा १२ चौका र ५ छक्कासहित अविजित ९८ रनको आक्रामक इनिङ खेलेका थिए । जैसवालले १३ बलमै अर्धशतक पूरा गरेका थिए ।
योसँगै जैसवालले आइपीएलमा केएल राहुल र प्याट कमिन्सको समान १४/१४ बलमा बनाएको रेकर्ड तोडेका थिए । कप्तान सन्जु सामसनले २९ बलमा ५ छक्का र २ चौकाको मद्दतमा अविजित ४८ रन बनाए । सन्जु र जैसवालले दोस्रो विकेटका लागि अविजित १ सय २१ रनको साझेदारी गरे । ओपनर जोस बटलर भने शून्यमै रनआउटको सिकार भएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । कोलकाताका लागि वैंकटेश अय्यरले ४२ बलमा ४ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । यस्तै, कप्तान नितिश राणाले २२ रन, रहमानउल्लाह गुर्बाजले १८ रन, रिंकु सिंहले १६ रन, जेसन रोय र आन्द्रे रसेलले समान १०/१० रन जोडेका थिए ।
राजस्थानका लागि स्पिनर युजवेन्द्र चहलले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । ट्रेन्ट बोल्टले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । यस्तै, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र केएम आसिफले समान १/१ विकेट लिएका थिए ।
जारी लिगमा राजस्थानको यो छैटौँ जित हो । जितसँगै राजस्थान अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । राजस्थानले १२ खेलमा १२ अंक जोडेको छ । पराजित कोलकाता सातौँ स्थानमा झरेको छ । कोलकाताले १२ खेलमा ५ मा जित र ७ मा हारका साथ १० अंक जोडेको छ ।