काठमाडौं । कान्तिपुर पब्लिकेशन्सले आयोजनामा ११ औं कान्तिपुर हाफ म्याराथन प्रतियोगिता आउँदो जेठ ६ गते हुने भएको छ । दशक यात्रा पार गरिसकेको कान्तिपुर हाफ म्याराथनको यसपालि मुख्य नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको बुधबार पत्रकार सम्मेलनमा पब्लिकेशन्सका सीईओ महेश स्वाँरले जानकारी गराएका थिए ।
प्रतियोगितामा यसपालि पहिलो पटक कलेज रन विधा थपिएको छ । ७ किलोमिटर दुरीमा हुने यस विधामा १८ वर्षमाथिका विद्यार्थीले दौडन पाउनेछन् । यसबाहेक हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट (५ किमि) र ह्विलचेयर (३ किमि) गरी अन्य विधा यथावत नै रहेको पब्लिकेशन्सका सीईओ महेश स्वाँरले बताए । उनले विभिन्न देशमा हुने सिटी म्याराथनको अवधारणामा कान्तिपुर म्याराथनले दशक यात्रा पार गर्नु आफैंमा ठूलो उपलब्धि भएको बताए ।
हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख रुपैया पुरस्कार पाउने छन् । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुने खेलाडीले ५ हजार रुपैयाँ पाउने छन् ।
शारीरिक रूपमा फरक क्षमता हुने ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार पाउनेछन् । कलेज रनतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन् ।
कर्पोरेटतर्फ विजेतालाई केएफसी र ह्याम्स अस्पतालको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने छ । सबै विधामा गरि ३ हजारभन्दा बढीले भाग लिने आयोजकको अपेक्षा छ । खेलाडी दर्ताका लागि जेठ १ गतेसम्म समयसीमा रहेको र खेलाडी दर्ता निःशुल्क रहेको जनाइएको छ ।
कान्तिपुरको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्कमै आएर दौड टुंगिने छ ।
गत वर्ष पुरुषमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र महिलामा नेपाल पुलिस क्लबकी राजपुरा पछाईं विजेता भएका थिए । महिलातर्फ यसअघि आफूले भाग लिएको आठमध्ये ५ संस्करणमा कान्छीमाया कोजुले उपाधि जितेकी छन् । पुरुषतर्फ हरिकुमार रिमालले चार पटक उपाधि जितिसकेका छन् ।
पूर्व विजेताहरू : वर्ष विजेता (पुरुष – महिला)
२०६७ अर्जुनकुमार बस्नेत – कान्छीमाया कोजु
२०६८ हरिकुमार रिमाल- बृन्दा श्रेष्ठ
२०६९ कल्याण बानियाF – कान्छीमाया कोजु
२०७० अनिश थापामगर- कान्छीमाया कोजु
२०७१ हरिकुमार रिमाल – विश्वरुपा बुढा
२०७२ गोपीचन्द्र पार्की- रेशु बस्नेत
२०७३ हरिकुमार रिमा- कान्छीमाया कोजु
२०७४–७५ हरिकुमार रिमाल – कान्छीमाया कोजु
२०७६ अनिश थापामगर – विश्वरुपा बुढा
२०७९ गोपीचन्द्र पार्की – राजपुरा पछाई