काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि शीर्ष स्थानको बार्सिलोनाले जित हात पार्दा सोसिडाडसँग रियल मड्रिड पराजित भएको छ । स्पोटिफाइ क्याम्प नोउमा मंगलबार राति भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १० खेलाडीमा सिमित ओसासुनालाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा बार्सिलोनाको जितमा बैकल्पिक खेलाडी जोर्डी अल्बाले निर्णायक गोल गरे । खेलको ८५ औं मिनेटमा फ्रान्की डि जोङको पासमा अल्बाले गोल गरेका थिए । खेलको ७६ औं मिनेटमा एलेक्स बाल्डेको स्थानमा जोर्डी अल्बा मैदान छिरेका थिए ।
यसअघि, खेलको २७ औं मिनेटमा नै पेड्रीमाथि अनावश्यक फउल गरेपछि जर्ज हररान्डो सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेपछि ओसासुना १० खेलाडीमा समेटिन पुगेको थियो । तर, त्यसको फाइदा लिन बार्सिलोनाले खेलको अन्तिम समय सम्मनै कुर्नुपरेको थियो ।
जितसँगै बार्सिलोना २७ औँ स्पेनिस ला लिगाको उपाधि नजिक रहेको छ । बार्सिलोनाले ३३ खेलबाट ८२ अंक जोडेको छ । जुन दोस्रो स्थानको साविक विजेता रियल मड्रिडभन्दा १४ अंकले माथि हो । पराजित ओसासुना ३३ खेलबाट ४४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
रियल सोसिडाडसँग रियल मड्रिड पराजित
यस्तै, मंगलबार रातिनै भएको अर्को खेलमा १० खेलाडीमा सिमित भएको रियल मड्रिडलाई रियल सोसिडाडले २-० गोल अन्तरले हराएको छ । रियाले एरिना स्पेनमा भएको खेलमा सोसिडाडको जितमा ताकेफुसा कुबो र एन्डर बारेनसिएले समान एक/एक गोल गरेका थिए ।
खेलको ४७ औं मिनेटमा पुर्व क्लबविरुद्ध कुबोले गोल गर्दै सोसिडाडलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६१ औं मिनेटमा डानी कार्भाजलले रातो कार्ड पाएपछि रियल मड्रिड १० खेलाडीमा समेटिएको थियो । त्यसपछि, खेलको ८५ औं मिनेटमा एन्डरले गोल गर्दै सोसिडाडलाई २-० को जित दिलाएका थिए ।
जितसँगै रियल सोसिडाड ३३ खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । यस हारले रियल मड्रिडको स्पेनिस ला लिगाको उपाधि पुनः जित्ने सम्भावना पातलिएको छ । पराजित रियल मड्रिड ३३ खेलबाट ६८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस्तै, अल्मेरियासँग २-१ गोल अन्तरले पराजित भएसँगै इल्चे रेलिगेसनमा परेको छ ।