काठमाडौँ । नेपालले एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेलमा युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा आयोजक नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।
जितसंगै अपराजित रुपमा च्याम्पियन बनेको नेपालले एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको छ । नेपालले सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो । एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान हुनेछन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
युएईले जितको लागि दिएको १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ८३ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ६७ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा अविजित रहे । गुलशन झा र भीम सार्कीले चौथो विकेटका लागि ९६ रनको अविजित साझेदारी गरेका थिए । गुलशन झा खेलको 'प्लेयर अफ द म्याच' बने ।
सुरुआत राम्रो हुन नसकेको नेपालका दुवै ओपनर र कप्तान सस्तैमा आउट भएका थिए । ओपनर कुशल भुर्तेललाई एक रनमा अर्का ओपनर आसिफ शेख ८ रनमा र कप्तान रोहितकुमार पौडेल एक रनमा बोल्ड आउट भएका थिए । युएईका लागि स्पिनर रोहन मुस्तफाले १० ओभरमा ३ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । आयन खानले ९.३ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर १ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भएको थियो । हिजो सोमवार युएईले २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । यूएईले आज थप ११ रनमात्रै जोड्न सक्यो । अन्तिम विकेटका रुपमा ललित राजवंशीले जुनैद सिद्दिकीलाई १७ बलमा १ छक्कासहित १० रनमा कुशल भुर्तेलबाट क्याच गराएका थिए ।
यसअघि, युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४६ रनमा आउट भएका थिए । आसिफलाई आठौँ विकेटको रूपमा नेपालका स्पिनर ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए । लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरेका थिए ।
युएईका कप्तान मोहम्मद वासिम ८ बलमा १ चौका र १ छक्कासहित ११ रन तथा ओपनर आर्यान लाक्रा १३ रन बनाएर आउट भएका थिए । जारी प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै आउट भएका थिए । बसिल अहमिद २७ बलमा १० रनमा बोल्ड आउट भए । आयन खान ५ रनमा, रोहान मुस्ताफा २ रनमा र रमिज शाहजाद १ रनमा आउट भएका थिए ।
नेपालका लागि ललितनारायण राजवंशीले ७.१ ओभरमा २ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर २ विकेट लिएका थिए । करण केसीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिएका थिए । सोमपाल कामी र गुलशन झाले समान एक/एक विकेट लिएका थिए ।