काठमाडौँ । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेलमा युएईले नेपाललाई ११८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा ११७ रन बनाउँदै अल आउट भयो ।
हिजो सोमवार टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । यूएईले आज थप ११ रनमात्रै जोड्न सक्यो । अन्तिम विकेटका रुपमा ललित राजवंशीले जुनैद सिद्दिकीलाई १७ बलमा १ छक्कासहित १० रनमा कुशल भुर्तेलबाट क्याच गराएका थिए ।
यसअघि, युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४६ रनमा आउट भएका थिए । आसिफलाई आठौँ विकेटको रूपमा नेपालका स्पिनर ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए । लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरेका थिए ।
युएईका कप्तान मोहम्मद वासिम ८ बलमा १ चौका र १ छक्कासहित ११ रन तथा ओपनर आर्यान लाक्रा १३ रन बनाएर आउट भएका थिए । जारी प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै आउट भएका थिए । बसिल अहमिद २७ बलमा १० रनमा बोल्ड आउट भए । आयन खान ५ रनमा, रोहान मुस्ताफा २ रनमा र रमिज शाहजाद १ रनमा आउट भएका थिए ।
नेपालका लागि ललितनारायण राजवंशीले ७.१ ओभरमा २ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर २ विकेट लिएका थिए । करण केसीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिएका थिए । सोमपाल कामी र गुलशन झाले समान एक/एक विकेट लिएका थिए ।
आज मंगलबारको खेल पनि वर्षाले अवरुद्ध भएमा ओभर घटाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ । सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुङ्गो लाग्नेछ । आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा रहेका छन् । यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ । एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ क्यानले आज नेपाल र युएईबीचको फाइनल खेलमा दर्शकले नि:शुल्क प्रवेश पाउने जनाएको छ ।