काठमाडौँ । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगिताको नेपाल र युएईबीचको सोमबार रोकिएको बाँकी फाइनल खेल आज मंगलबार पुनः हुदैँछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा वर्षाको कारण हिजो स्थगित खेल आज रिजर्भ डेमा बिहान ९ बजेदेखि हिजोकै अवस्थाबाट सुरु हुनेछ ।
हिजो सोमवार टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । हिजो जारी खेलको क्रिजमा कार्तिक मेयप्पन १ रन बनाएर खेलि रहेका छन् भने अब आज मंगलबार आउने अर्का ब्याटर जुनेद सिद्दिकी हुन् ।
यसअघि, युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४६ रनमा आउट भएका थिए । आसिफलाई आठौँ विकेटको रूपमा नेपालका स्पिनर ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए । लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरे । ललितले आज मंगलबार पहिलो बलमै विकेट लिन सके ओडिआईमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बन्नेछन् ।
युएईका कप्तान मोहम्मद वासिम ८ बलमा १ चौका र १ छक्कासहित ११ रन तथा ओपनर आर्यान लाक्रा १३ रन बनाएर आउट भएका थिए । जारी प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै आउट भएका थिए । बसिल अहमिद २७ बलमा १० रनमा बोल्ड आउट भए । आयन खान ५ रनमा, रोहान मुस्ताफा २ रनमा र रमिज शाहजाद १ रनमा आउट भएका थिए ।
नेपालका लागि ललितनारायण राजवंशीले ४.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका छन् । स्पिनर सन्दीप लामिछानेले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । करण केसीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिएका थिए । सोमपाल कामी र गुलशन झाले समान एक/एक विकेट लिएका छन् ।
आज मंगलबारको खेल पनि वर्षाले अवरुद्ध भएमा ओभर घटाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ । सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुङ्गो लाग्नेछ । आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा रहेका छन् । यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ । एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ क्यानले आज नेपाल र युएईबीचको फाइनल खेलमा दर्शकले नि:शुल्क प्रवेश पाउने जनाएको छ ।