काठमाडौँ । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगिताको नेपाल र युएईबीचको फाइनल खेलका लागि दर्शकले टियु क्रिकेट मैदानमा नि:शुल्क प्रवेश पाउने भएका छन् । वर्षाका कारण ‘रिजर्भ डे’मा सरेको स्थगित खेल भोलि (मंगलबार) बिहान ९ बजेदेखि आजकै अवस्थाबाट सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ क्यानले भोलिको नेपाल र युएईबीचको फाइनल खेल निःशुल्क हुने जनाएको छ । सोमवार टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । आज जारी खेलको क्रिजमा कार्तिक मेयप्पन १ रन बनाएर खेलि रहेका छन् भने अब मंगलबार आउने अर्का ब्याटर जुनेद सिद्दिकी हुन् ।
यसअघि, युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४६ रनमा आउट भएका थिए । आसिफलाई आठौँ विकेटको रूपमा नेपालका स्पिनर ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए । लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरे । ललितले मंगलबार पहिलो बलमै विकेट लिन सके ओडिआईमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बन्नेछन् ।
युएईका कप्तान मोहम्मद वासिम ८ बलमा १ चौका र १ छक्कासहित ११ रन तथा ओपनर आर्यान लाक्रा १३ रन बनाएर आउट भएका थिए । जारी प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै आउट भएका थिए । बसिल अहमिद २७ बलमा १० रनमा बोल्ड आउट भए । आयन खान ५ रनमा, रोहान मुस्ताफा २ रनमा र रमिज शाहजाद १ रनमा आउट भएका थिए ।
नेपालका लागि ललितनारायण राजवंशीले ४.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका छन् । स्पिनर सन्दीप लामिछानेले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । करण केसीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिएका थिए । सोमपाल कामी र गुलशन झाले समान एक/एक विकेट लिएका छन् ।
भोलि (मंगलबार)को खेल पनि वर्षाले अवरुद्ध भएमा ओभर घटाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ । सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुङ्गो लाग्नेछ । आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा रहेका छन् । यस्तो अवस्थामा अपराजित रहेको आयोजक नेपाल च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ । एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।