काठमाडौँ । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज सोमबार नेपालले यूएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
आजको विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् । नेपाल अहिलेसम्म एसिया कपमा छनोट हुन सकेको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक एसिया कपमा खेल्न चाहन्छ ।
सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले डीएल मेथडमा दुई रनले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ ।
नेपाल र युएईबीचको पछिल्लो भेटमा नेपाल विजयी भएको थियो । घरेलु मैदानमा नेपाल पछिल्लो १३ खेलमध्ये ११ खेलमा जित निकाल्दा दुई खेल नतिजा विहीन टुंगिएको थियो । जसमध्येका नौ खेल आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त थिए । युएईसँग टियु मैदानमा भएको पछिल्लो चार खेलमा नेपाल अपराजित रहेको छ ।
यसै वर्ष पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी थिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । युएई ब्याटरहरु पछिल्लो समयमा केही लयमा रहनु नेपालका लागि चुनौती हुनसक्छ । घरेलु मैदानमा नेपालका बलरहरु त्यस चुनौतीलाई पन्छाउन तयार रहेका छन् ।
एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् । आइतबार भएको तेस्रो स्थानको खेल बर्षाका कारण रद्द भएसँगै ओडिआई मान्यता प्राप्त राष्ट्रको आधारमा ओमान विजेता बनेसँगै एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएको छ ।
फाइनल खेल तय भएको सोमबार काठमाडौंमा वर्षा हुने सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार रिजर्भ डेको व्यवस्था गरिएको छ । तर सोमबार र मंगलबार दुवै दिन वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । तर सुपर ओभर पनि गर्ने अवस्था नरहेमा नेपाल एसिया कपमा पुग्नेछ । ओडिआई वरियतामा माथि रहने टोलीले एसिया कप खेल्न पाउनेछ । नेपाल ओडिआई वरियता १४ औं स्थानमा र युएई १९ औं स्थानमा रहेका छन् ।