काठमाडौं । एसीसी प्रिमियर कपमा वर्षाको कारण तेस्रो स्थानको लागि कुवतेसँगको खेल रद्द भएसँगै ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतवार वर्षाको कारण दोस्रो इनिङ हुन नसकेपछि ओडिआई वरियताको आधारमा प्रिमियर कपमा तेस्रो हुदै ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो ।
कुवतले जितको लागि दिएको १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि, लगातार वर्षा भएपछि खेल रद्द गरिएको हो । त्यसअघि, ओमानका जतिन्दर सिंह १९ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा र कश्याप प्रजापति १३ रनमा अविजित थिए । ओमान ओडिआई वरियता १८ औं स्थानमा रहेको छ । उता, कुवेत भने ओडिआई टोली होईन ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कुवेत स्पिनर जय ओडेराको घातक बलिङमा ३१.३ ओभरमा १ सय ३० रनमा अल आउट भएको थियो । कुवेतका लागि ओपनर आदनान इद्रिसले ४८ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाउँदा सईद मुनिब १० बलमा ५ चौका र १ छक्कासहित २८ रनमा आउट भएका थिए । यासिन पटेलले १७ रन बनाए । राजिब सान्दारुवान र कप्तान मोहम्मद अस्लामले समान १२/१२ रन बनाएका थिए ।
ओमानका लागि स्पिनर जय ओडेराले ५.३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए । बिलाल खानले ७ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । आयान खान, जिशान मक्शुद र जतिन्दर सिंहले समान १/१ विकेट लिएका थिए ।
इमर्जिङ कपमा एसीसी प्रिमियर कपका शीर्ष तीन टोलीले स्थान बनाउनेमा फाईनलमा पुगेका आयोजक नेपाल र युएई छनोट भइसकेका छन् । सोमबार नेपाल र युएईबीचको फाइनल खेल टियु क्रिकेट मैदानमा बिहान नौ बजेबाट सुरु हुनेछ । वर्षाको कारण खेल हुन नसके मंगलबार हुनेछ । खेल मंगलबार पनि हुन नसकेको खण्डमा सुपर ओभर हुनेछ । खेलमा सुपर ओभर पनि हुन नसकेको खण्डमा नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआई वरियता १४ औं स्थानमा र युएई १९ औं स्थानमा रहेका छन् ।