काठमाडौं । फ्रान्सेली पुर्व फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलले अल्मेरियामाथि ४-२ गोल अन्तरको सहज जित हात पारेको हो ।
घरेलु मैदानमा रियलको सहज जितमा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गोल गरे । रियलका रोड्रिगोले एक गोल थपेका थिए । अल्मेरियाका लजारो र लुकासले समान एक/एक गोल फर्काएका थिए ।
खेलको पाँचौं मिनेटमा भिनिसियस जुनियरको पासमा बेन्जेमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा रोड्रिगोको पासमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।
खेलको ४२ औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दै रियललाई ३-० को अग्रता दिलाएका थिए । अल्मेरियाका लार्गी रमाजानीले लुकास भाज्क्वेजलाई फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा लार्गी रमाजानीको पासमा लाजारोले गोल गर्दै अल्मेरियालाई ३-१ को स्थितिमा ल्याएका थिए । खेलको ४७ औं मिनेटमा ड्यानियल सेवालोसको पासमा रोड्रिगोले गोल गर्दै रियललाई ४-१ को अग्रता दिलाएका थिए ।
खेलको ६१ औं मिनेटमा फ्रान्सिस्कोको पासमा लुकासले गोल गर्दै खेललाई ४-२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो । यस जितसंगै रियलले ला लिगामा ३२ खेलबाट २१ जित, ५ बराबरी र ६ हारका साथ ६८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
रियल अझैपनि शीर्षस्थानको क्याटलान क्लब बार्सिलोनाभन्दा ११ अंकले पछि रहेको छ । समान खेलबाटै बार्सिलोनाको ७९ अंक रहेको छ । पराजित अल्मेरिया ३३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।