काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल भारी वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेपाल र कुवेतबीचको खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।
नेपालले जितको लागि दिएको २८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित ४२ ओभरको ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । तर, त्यसपछि भारी वर्षा हुँदा नेपाल र कुवेतबीच सुपर ओभर पनि हुन सकेन ।
नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । भारी वर्षाको कारण खेल रद्द भएसँगै नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।
कुवेतले वर्षाले खेल रोकिनु अघि ८ ओभर २ बलमा ६ विकेट गुमाएर ३७ रन जोडेको थियो । कुवेतका ओपनर आदनान इद्रिस शून्यमा, रविजा सनदरुवान ९ रनमा, परविन्दर कुमार १ रनमा, मित भावसार ५ रनमा र मोहम्मद अस्लाम १४ रनमा आउट भएका थिए । नेपालका लागि करण केसीले ४.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । निरन्तर वर्षाले खेललाई प्रभावित गरेपछि ४२ ओभरमा घटाइएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ९४ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान मोहमद अस्लामको बलमा यासिन पटेलबाट क्याच आउट हुँदा रोहित ६ रनले शतक बनाउन चुकेका थिए ।
कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । कुशलले चौथो विकेटका लागि रोहितसँग १ सय ९ रनको साझेदारी गरेका थिए । यसअघि, नेपालका ओपनर कुशल भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भएका थिए ।
अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भएका थिए । ओपनरद्धए आसिफ शेख र कुशल भुर्तेलले १०.५ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । भीम सार्की एक रनमा क्याच आउट भएका थिए ।
आरिफ शेखले १९ बलमा २ चौका तथा १ छक्काको सहयोगमा १९ रन बनाए । सोमपाल कामीले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाएका थिए । करण केसी ७ रन, सन्दीप लामिछाने ५ रन र ललितनारायण राजवंशीले २ रन बनाएका थिए ।
कुवेतका लागि कप्तान मोहम्मद अस्लामले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिएका थिए । आदनान इद्रिसले ८ ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । स्पिनर यासिन पटेलले ९ ओभरमा ५२ रन खर्चेर १ विकेट लिएका थिए । सैयद मोनिबले एक विकेट लिएका थिए ।
अब नेपालले फाइनलमा सोमबार युएईसँग खेल्नेछ । युएईले ओमानलाई डीएल पद्दतिको आधारमा २ रनले हराएर फाइनलमा पुगेको हो । नेपालले उपाधि जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । फाइनलमा पुगेसँगै नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।