काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा घरेलु टोली नेपालले आज शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा जारी प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेकाे नेपाल आज सोही लयलाई निरन्तरता दिदै कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ । नेपालले प्लेइङ–११ मा टोलीमा एक परिवर्तन गरेको छ । नेपालले गुलशन झाको स्थानमा करण केसीलाई मौका दिएकोछ ।
नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल खेल्ने भएका हुन् । समूह ‘ए’ बाट नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रहेर समूह विजेता बन्यो । समूह ‘बी’ बाट कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा रह्यो ।
त्यस्तै, युएई र ओमानबीचको दोस्रो सेमिफाइनल खेल शनिबार नै मुलपानी क्रिकेट मैदानमा हुनेछ । युएई समूह ‘बी’ को विजेता र ओमान समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल खेल्ने भएका हुन् । समूह ‘बी’ बाट युएई ४ खेलमा ३ मा जित र १ खेलमा हारसहित ६ अंकका साथ नेटरनरेटको कारण शीर्ष स्थानमा रहेर समूह विजेता बन्यो । समूह ‘ए’ बाट ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
नेपालको प्लेइङ-११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।
कुवेतको प्लेइङ ११ :
मोहम्मद अस्लाम (कप्तान), आदनान इद्रिस, सैयद मोनिब, उस्मान पटेल, बिलाल ताहिर र रजिवा संदरुवान, मित भावसार, शिराज खान, परविन्दर कुमार, यसिन इशक पटेल र शाहरुख कुद्दुस ।