काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा कतारलाई हराउदै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार समूह चरणको अन्तिम खेलमा आयोजक नेपाल ६८ रनले विजयी भएको हो ।
नेपालले जितको लागि दिएको १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अल आउट भयो । कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाएका थिए । खुर्रम शाहजाद र ओपनर जाहिर ईब्राहिमले समान १५/१५ तथा अमिर फरिकले १४ रन बनाएका थिए ।
नेपालको लागि अलराउन्ड प्रदर्शन गरेका सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए । स्पिनर ललित नारायण राजवंशीले ५ ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । नेपालका सन्दीप लामिछाने ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहेका थिए । अलराउन्ड प्रदर्शन गरेका सन्दीप लामिछाने खेलको 'प्लेयर अफ द म्याच' बने ।
कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाएका थिए । ओपनर आसिफ शेखले २७ बलमा २ चौकासहित १९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाएका थिए ।
कतारका लागि आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गयान मुनाविराले ७ ओभरमा ३८ रन खर्चेर २ विकेट लिएका थिए । इक्रामउल्लाह खानले १० ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।
समूह ‘ए’ मा रहेको नेपाल ४ खेलमा ३ मा जित र १ मा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रहेर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूहबाट ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
अब शनिबार नेपाल समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनलमा खेल्नेछ । प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ । यस्तै, शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।
वर्ल्डलिंकले सन्दीपलाई १ लाख नगदसहित मैदानमै सम्मान
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले स्पिनर सन्दीप लामिछानेलाई १ लाख नगदसहित सम्मान गरेको छ । ओडिआईमा सबैभन्दा छिटो १ सय विकेट लिएकोकोमा बधाई दिँदै वर्ल्डलिंकले सन्दीपलाई सम्मान गरेको हो ।
सन्दीपले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान बनाएका थिए । सन्दीपले ४२ खेलमा १ सय विकेट लिँदै विश्व रेकर्ड बनाएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो । रसिदले ४४ खेलमा सय विकेट लिएका थिए । कतार र नेपालबीचको खेल सकिएपछि मैदानमा सन्दीपलाई वर्ल्डलिंकले ट्रफी र नगदसहित सम्मान गरेको हो ।