काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा नेपालले कतारलाई १५८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले ४०.१ ओभरमा अलाउट हुँदै जम्मा १५७ रनको योगफल बनाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल कुल १११ रनमा ९ विकेट गुमाएको अवस्थामा स्पिनर सन्दीप लामिछाने र ललित राजवंशीले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याएका थिए ।
नेपालका सन्दीप लामिछाने ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहे । कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाएका थिए । ओपनर आसिफ शेखले २७ बलमा २ चौकासहित १९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाएका थिए ।
नेपाल यसअघि ओमानविरुद्ध ५९ बलमै शतक हानेका युवा अलराउन्डर कुशल मल्ल ३ रनमा आउट भएपछि संकटमा पुगेको थियो । कतारका लागि आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गयान मुनाविराले ७ ओभरमा ३८ रन खर्चेर २ विकेट लिएका थिए । इक्रामउल्लाह खानले १० ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।
यो समूहबाट नेपालसँगै ओमान सेमिफाइनलमा पुगिसकेको छ । यो खेल पछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । यस समूहबाट नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ एक खेल अगाबै सेमिफाइनलमा पुगेको थियो । ओमानले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको हो ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा १० राष्ट्रको सहभागीता रहेको प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म टियु र मुलपानीमा सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ । यस्तै, शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।