काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा आज बिहीबार नेपालले कतारको सामना गर्नेछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेल बिहान ९ बजे सुरु हुनेछ ।
घरेलु टोली नेपाल कतारलाई हराउँदै अपराजितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा खेल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । जारी प्रतियोगितामा सुरुवाती दुई खेल जितेको नेपाल तेस्रो खेल भने वर्षाको कारण रद्द भएपछि साउदी अरबियासँग अंक बाँड्न बाध्य भएको थियो ।
यो समूहबाट नेपालसँगै ओमान सेमिफाइनलमा पुगिसकेको छ । यस समूहबाट नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ एक खेल अगाबै सेमिफाइनलमा पुगेको थियो । ओमानले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको हो ।
बिहीबार नै माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलमा हङकङ र कुवेत भिड्ने भएका छन् । समूह ‘बी’ मा युएई ४ खेलबाट ३ मा जित र १ मा हारसहित ६ अंक जोड्दै सेमिफाइनलमा पुगिसकेको छ । हङकङ र कुवेतबीचको बिहीबारको खेल विजेताले पनि सेमिफाइनलमा स्थान बनाउनेछ ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा १० राष्ट्रको सहभागीता रहेको प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म टियु र मुलपानीमा सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ । यस्तै, शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।